खलङ्गा। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरूले मनोनयन दर्ता गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा संयुक्त, आम जनता पार्टी र नेकपा (माओवादी) पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
नेकपा (एमाले)बाट गणेशसिंह ठगुन्ना, नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मणदत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशसिंह सामन्त, नेपाल मजदुर किसान पार्टीबाट रमेशकुमार रावल, राष्ट्रिय जनमोर्चाबाट विर्खराज पन्त, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, नेकपा संयुक्तबाट विद्यादेव जोशी, आम जनता पार्टीबाट प्रेमसिंह बडाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र नेकपा (माओवादी)बाट इन्जिनियर नवराज भट्टले उम्मेदवारी दर्ता गरेका छन् ।
विसं २०७९ को निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनले यसपटक निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले जोशीलाई उम्मेदवार बनाएको हो । एमालेले पुरानै उम्मेदवार गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मणदत्त जोशी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्त पूर्वशिक्षक हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्द नेपाली सेनाका अवकाशप्राप्त महासेनानी हुन् । मनोनयन दर्तासँगै दार्चुलामा निर्वाचन गतिविधि तीव्र बनेको छ ।





























प्रतिक्रिया