मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमै उत्पादन हुने सिमेन्टको प्रयोग प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोग घटाउनुपर्ने आवश्यकता औँल्याएका छन्। दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य रहेको उनको भनाइ छ। अलकत्राको विस्थापनले सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरणमा समेत योगदान पुग्ने उनले बताए ।
नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा आयोजित तथा आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा आयोजित सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माणसम्बन्धी एकदिने तालिमको शुभारम्भ गर्दै उनले बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गरी आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिए।
सिमेन्टको अधिकतम खपतका लागि कालोपत्रे सडकको सट्टा कङ्क्रिट (ढलान) सडक निर्माणतर्फ जानुपर्ने उनले बताए। नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्द मारुले हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यक रहेको बताए। कालोपत्रे सडकको तुलनामा प्रारम्भिक लागत केही बढी भए पनि कङ्क्रिट पक्कीकरण दीर्घकालीन रूपमा कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीय हुने उनको भनाइ छ। उनका अनुसार नेपालमा वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढीको बिटुमिन आयात हुने गर्दछ, जसलाई स्वदेशी सिमेन्टमार्फत कङ्क्रिट सडक निर्माण गरेर प्रतिस्थापन गर्न सकिन्छ।
कार्यक्रममा कङ्क्रिट सडक प्रविधिको महत्व, डिजाइन अवधारणा, प्रकार, छनोटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्व, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका र निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यसबाट नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्ति लाभान्वित भएका जनाइएको छ।
कार्यक्रममा इन्जिनियर अर्जुनजङ्ग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण गरे। उनले नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौती उल्लेख गर्दै कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो विकल्प भएको स्पष्ट पारे। आइपिटिएम नेपालका कार्यकारी निर्देशक चुमनबाबु श्रेष्ठले तालिमको महत्वबारे जानकारी दिए।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वाधार विकास योजना कार्यालय मकवानपुरका सुपरिटेन्डेन्ट इन्जिनियर दीपककुमार दास, नेपाल सिमेन्ट उत्पादक सङ्घका पूर्वअध्यक्ष ईश्वर थापालगायत विभिन्न निकायका प्रतिनिधि तथा प्रदेशका प्राविधिकहरूको उपस्थिति थियो।































प्रतिक्रिया