सर्लाही। सर्लाहीको निर्वाचन क्षेत्र नम्वर ३ लाई यसपटक विशेष निर्वाचन क्षेत्रको रुपमा हेरिएको छ । यो पुर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीको सांगठनिक हैसियत, गठबन्धनको औचित्य र श्रेष्ठको राजनीतिक भविष्य एकैचोटि परीक्षण हुने मैदान बनेको छ । यस क्षेत्रमा श्रेष्ठको उम्मेदवारीले चुनावलाई मात्र नभएर नेकपाको शक्ति सन्तुलन र स्थानीय असन्तुष्टिलाई समेत सतहमा ल्याइदिएको छ ।
पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार सर्लाही–३ मा कुनै दल एक्लै निर्णायक बनेको इतिहास छैन। नेकपा, एमाले, जसपा, कांग्रेस, रास्वपा सबैको प्रभाव छ, तर गठबन्धनले मात्रै नतिजा पल्टिने यथार्थ २०७९ कै निर्वाचनले पुष्टि गरिसकेको छ । त्यतिबेला एमाले–जसपा गठबन्धनबाट हरिप्रसाद उप्रेती विजयी भए भने कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार नरेन्द्र साह कलवार पराजित भएका थिए ।
यसपटक झनै रोचक मोड आएको छ । उप्रेती फेरि एमालेबाट मैदानमा छन्, कलवार नेकपा छाडेर रास्वपाबाट उठेका छन्, कांग्रेसले विनोदकुमार खनाललाई अघि सारेको छ र जसपाबाट जयप्रकाश राय मैदानमा छन्। यही भीडको केन्द्रमा छन् —नारायणकाजी श्रेष्ठ ।
श्रेष्ठले सर्लाही–३ रोज्नुको मुख्य कारण यहाँ तत्कालिन माओवादीको स्थानीय संरचना र जनमोर्चा पृष्ठभूमि बोकेको राजनीतिक लिगेसी हो। बागमती र हरिवन नगरपालिकामा माओवादीले मेयर जित्नु, बागमतीमा वडा तहमा बलियो पकड हुनु श्रेष्ठका लागि सकारात्मक आधार हो। तर यही क्षेत्रभित्र सबैभन्दा ठूलो जोखिम पनि लुकेको छ ।
हरिवनमा मेयर जिते पनि माओवादीले एउटै वडा नजित्नु, बागमतीका मेयर भरत थापा भ्रष्टाचार प्रकरणमा निलम्बनमा पर्नु र वडा तहमा एमाले–कांग्रेसको प्रभाव बढ्नु यी सबैले नेपाली कम्युनिस्ट पार्टीको संगठनात्मक बल कति टिकाउ छ भन्ने प्रश्न उठाइरहेका छन्।
अर्कोतर्फ, नेकपा भित्रको आन्तरिक असन्तुष्टि पनि लुकेको छ। यही क्षेत्रबाट सिफारिसमा परेका रामेश्वर राय यादव नारायणकाजीको आगमनपछि बाहिरिएर जसपातर्फ मोडिनु सामान्य घटना होइन । यसले सर्लाहीमा नेकपाभित्र नेतृत्वप्रतिको असन्तोष उचाइमा पुगेको राजनितिक विश्लेषकहरु बताउँछन् ।
एमाले–जसपा फेरि सहकार्यको मोडमा जान सके भने अघिल्लो निर्वाचनजस्तै नतिजा दोहोरिन सक्ने सम्भावना बलियो देखिन्छ । कांग्रेस र रास्वपाको छुट्टाछुट्टै उपस्थितिले मत काटाकाट हुने जोखिम बढाएको छ, जसको प्रत्यक्ष असर नेकपा लाई पर्नेछ ।
अन्ततः सर्लाही–३ को चुनाव केवल एक सिटको लडाइँ मानिएको छैन । यो नारायणकाजी श्रेष्ठका लागि निरन्तर पराजयको श्रृंखला तोड्ने कि थप्ने निर्णायक क्षण,नेकपाका लागि तराईमा आफ्नो आधार जोगाउने कि गुमाउने परीक्षा, र गठबन्धन राजनीतिका लागि विश्वसनीयता जाँच्ने मैदानका रुपमा हेरिएको छ ।































प्रतिक्रिया