काडमाडौं । पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनहरि तिमिल्सिनाले विकास र जनअपेक्षालाई केन्द्रमा राखेर आफ्ना योजना सार्वजनिक गरेका छन् । पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पर्वतको शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन सुधारमा केन्द्रित योजना अघि सारे ।
तिमिल्सिनाले पर्वतको समग्र विकासका लागि व्यवहारिक र कार्यान्वयनयोग्य योजना आवश्यक रहेको बताउँदै जनउत्तरदायी राजनीति आफ्नो प्राथमिकता भएको उल्लेख गरे । उनले विगत केही समयदेखि पर्वतमै बसेर नागरिकसँग छलफल र संवाद गर्दै आएको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले तिमिल्सिनाको विकाससम्बन्धी अनुभव र भूमिकालाई सकारात्मक रूपमा मूल्याङ्कन गरे । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय कमिटी सदस्य सन्देश श्रेष्ठले पर्वतको पूर्वाधार र विकासमा तिमिल्सिनाको योगदान उल्लेख गर्दै यस्ता उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा राखे ।
आफ्नो राजनीतिक र पत्रकारितासम्बन्धी अनुभव सुनाउँदै तिमिल्सिनाले २०७४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजकका रूपमा काम गरेको जानकारी दिए । सो अवधिमा नीति, योजना र प्रेस व्यवस्थापनमा संलग्न भएर काम गरेको अनुभव आफूका लागि महत्वपूर्ण रहेको उनले बताए ।
शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै तिमिल्सिनाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन डिजिटल प्रविधिसँग जोडिएको विशेष प्याकेज तयार गरेको बताए । पर्वतका ५० भन्दा बढी विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी योजना तयार गरिएको उनको भनाइ छ ।
स्वास्थ्यतर्फ सबै पालिकामा अस्पताल निर्माण कठिन हुने भन्दै वैकल्पिक रूपमा ‘मोबाइल डाक्टर सेवा’ सुरु गर्न सकिने उनले बताए । उक्त योजना अनुसन्धानमा आधारित रहेको दाबी गर्दै उनले गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्य रहेको स्पष्ट पारे ।
उनले पर्वतमा बढ्दो बाँदर आतंक र बसाइँसराइ समस्यालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि विशेष कार्यक्रम तयार गरिएको जानकारी दिए ।
त्यसैगरी, पर्वतमै आईसीटी हब स्थापना गर्ने दीर्घकालीन योजना रहेको बताउँदै सो हबबाट युवालाई डिजिटल सीप र आम्दानीको अवसर प्रदान गरिने उनले बताए ।
अन्त्यमा तिमिल्सिनाले आफ्नो एजेन्डा भाषणमा सीमित नभई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गर्न आग्रह गरे ।





























प्रतिक्रिया