काठमाडौं । नेकपा (एमाले) ले ओखलढुंगाबाट जेन्जी उमेरकी युवा नेतृ अस्मिता थापालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लामा विद्रोह देखिएको छ। नेतृत्व पुस्तान्तरणको नारा लगाउँदै आएको एमालेको तल्लो कमिटीले नै जेन्जी नेतृत्व स्वीकार्न सकेन।
केन्द्रले जिल्ला कमिटीको सिफारिस र भावना विपरीत उम्मेदवार तोकेको भन्दै असन्तुष्टि यति चुलियो कि अन्ततः एमाले ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ।

एमाले केन्द्रीय सचिवालयले लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई ओखलढुंगाबाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, थापा स्वयंले प्रतिनिधि सभाको आकांक्षा समेत नराखेको भन्दै जिल्ला नेताहरू असन्तुष्ट देखिएका थिए।
जिल्ला कमिटीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो। सिफारिस सूचीमा ईश्वर पोखरेल, प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, पटक–पटक सांसद भइसकेका यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का र नानीबाबु बुढाथोकी रहेका थिए। तर, केन्द्रले फरक निर्णय गर्दै अस्मिता थापालाई उम्मेदवार बनाएपछि जिल्ला नेतृत्व आक्रोशित बनेको थियो।

यसै विवादका बीच एमाले कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ यसअघि नै एमाले परित्याग गरिसकेका थिए। पछिल्लो घटनाक्रमसँगै जिल्ला अध्यक्ष खड्कासहितको जिल्ला कमिटी नै नेकपामा समाहित छ।
पुस्तान्तरणको माग गर्ने तर व्यवहारमा अस्वीकार गर्ने प्रवृत्तिले एमालेका कतिपय संरचना अझै पनि जेन्जी स्वीकार गर्न तयार छैनन् भन्ने सन्देश गएको छ।































प्रतिक्रिया