सर्लाही। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नम्बर ४ मा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यही क्षेत्रबाट उम्मेदवार बनेपछि अन्य दलमा रहेका निर्वाचित जनप्रतिनिधि र उम्मेदवारहरू कांग्रेसमा धमाधम प्रवेश गरेका हुन् ।
गगन थापालाई खुल्ला रुपमा समर्थन जनाउँदै बहुजन पार्टीका प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाहासहित गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् । बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा उनीहरूलाई कांग्रेस सभापति थापाले पार्टीमा स्वागत गरे।
कांग्रेस प्रवेश गर्नेमा गोडैता नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो, वडा नम्बर २ का अजयप्रसाद शाह, वडा नम्बर ५ का प्रकाश गुप्ता र वडा नम्बर ११ का विश्वनाथ पण्डित छन् । उनीहरू यसअघि एमाले, जसपा र नेकपा (माओवादी) लगायत फरक–फरक दलबाट निर्वाचित वडाध्यक्ष थिए ।
कांग्रेस प्रवेश गरेका नेताहरूले अब सर्लाही–४ मा चुनावी लडाइँ व्यक्तिवादी नभई नेतृत्व र भिजनको भएको दाबी गरेका छन् । उनीहरूले विकासको स्पष्ट दृष्टिकोण बोकेको नेतृत्व कांग्रेसमा मात्रै देखिएकाले गगन थापालाई जिताउन पार्टी परिवर्तन गरेको बताएका छन् ।
त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव र वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । यसअघि स्वतन्त्र उम्मेदवार महेन्द्र यादवसमेत कांग्रेसमा समाहित भइसकेका छन् ।
स्थानीय तहका निर्वाचित प्रतिनिधि, प्रदेश उम्मेदवार र प्रभावशाली नेताहरू एकपछि अर्को गर्दै कांग्रेसमा प्रवेश गरेपछि सर्लाही–४ को चुनावी समीकरण नै उल्टिने सम्भावना प्रवल बन्दै गएको छ ।































प्रतिक्रिया