काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र हालै एउटा अनौठो संयोग सार्वजनिक भएको छ । एउटै नाम र थर भएका दुई जना उम्मेदवार फरक–फरक निर्वाचन क्षेत्रमा उम्मेदवार बनेपछि सञ्चार माध्यममा समेत अन्योलमा परेको पाइएको छ ।
रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ र दोलखा जिल्लाबाट उम्मेदवार बनेका दुवै जनाको नाम जगदीश खरेल रहेको हो । नाम मात्र होइन, संयोग यति बलियो छ कि दुवैको घरसमेत दोलखा जिल्लामै पर्दछ ।
हालै दोलखाबाट रास्वपाका उम्मेदवार रहेका ३६ वर्षीय खरेललाई माघ ६ गते उम्मेदवारी दर्ताका क्रममा तोकिएको मापदण्डभन्दा बढी जुलुस लिएर गएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । तर यही विषयमा समाचार प्रकाशन हुँदा अधिकांश मूलधारका सञ्चार माध्यमहरूले तस्वीर भने ललितपुर क्षेत्र नम्बर २ का उम्मेदवार जगदीश खरेलको प्रयोग गरे, जसले भ्रम झन् बढाएको छ ।
ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका जगदीश खरेल भने लामो समय सञ्चार क्षेत्रमा सक्रिय व्यक्ति हुन्। नेपाल सरकारको मन्त्रीसमेत भइसकेका उनले केही दिनअघि मात्रै पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका थिए। सार्वजनिक छवि, परिचित अनुहार र सञ्चारमाध्यममा बलियो उपस्थितिका कारण अर्का जगदिश खरेल ‘छायाँमा’ परेका हुन् ।
यता दोलखाबाट उम्मेदवार बनेका जगदीश खरेल कालिन्चोक गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनी २०७९ को निर्वाचनमा पनि रास्वपाबाटै उम्मेदवार थिए । उनले ३८०१ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।
ललितपुरबाट उम्मेदवार बनेका जगदीश खरेलको पुख्र्यौली घरसमेत दोलखा नै हो । एउटै जिल्लाबाट नाता जोडिनु, एउटै नाम हुनु र एउटै पार्टीबाट चुनावी मैदानमा उत्रिनु—यी सबै संयोगले अझ रोचक बनाएको छ ।





























प्रतिक्रिया