काठमाडौँ । नेपालको संसदीय इतिहासमा सभामुख पदलाई सामान्यतः दलीय प्रतिस्पर्धाभन्दा माथि राखेर हेर्ने परम्परा छ । सभामुख निर्वाचित भएपछि दलीय आबद्धता त्याग्ने परम्परा पनि छ ।
निवर्तमान सभामुख देवराज घिमिरेले पनि निर्वाचित भएपछि एमालेको सबै जिम्मेवारीबाट अलग भएका थिए ।
प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा वर्तमान समेत निवर्तमान सभामुख देवराज घिमिरे मात्रै चुनावी मैदानमा उत्रिएका छन् ।
पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ का सभामुख दमननाथ ढुङ्गाना र पूर्वसभामुख तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ को निधन भइसकेको छ ।
२०५१ का सभामुख रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् भने २०५६ का सभामुख तारानाथ रानाभाट सक्रिय राजनीतिबाट करिब टाढा छन् । उनी पछिल्लो कांग्रेस विधान महाधिवेशनमा भने देखिएका थिए ।
तत्कालिन माओवादी केन्द्रबाट सभामुख बनेका र अहिले नेपाली कम्युनिष्ट पार्टीमा रहेका प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, २०७४ का सभामुख कृष्णबहादुर महरा र २०७६ का सभामुख अग्निप्रसाद सापकोटाले यसपटक चुनावी टिकट नै पाएनन् । गएको चुनावमा घर्ती मगर काठमाडौं २ बाट पराजित भएकी थिइन् भने महरा र सापकोटा प्रतिस्पर्धी नै भएका थिएनन् ।
अघिल्लो निर्वाचनमा नेम्वाङ इलाम २ बाट र पौडेल तनहुँ १ बाट निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति भएपछि स्वतः सांसद पदबाट मुक्त भए भने नेम्वाङको २ वर्षअघि निधन भएको थियो ।
घिमिरेको उम्मेदवारीलाई संसदीय निरन्तरता र राजनीतिक सन्देश दुवै हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ । घिमिरे स्वयंले आफू चुनाव नलडे पनि हुन्थ्यो, तर संसदमा अघि बढेका महत्वपूर्ण कानुनलाई पूरा गर्न निरन्तरता जरुरी देखिएको बताएका छन् । उनी भन्छन्– “म चुनाव नलड्दा पनि हुन्थ्यो, शिक्षा, प्रहरी, निजामती लगायतका विधेयक मेरो कार्यकालमा अघि बढेको छ । ती विधेयक संघीयतासँग सम्बन्धित छन् । तिनीहरूको कार्यान्वयनका लागि पनि मेरो निरन्तरता जरूरी देखियो ।” उनी संघीय संरचनालाई कार्यान्वयनमा लैजाने आधारभूत कानुनहरू अधुरै छाड्नु उपयुक्त नहुने भएकाले आफू पुनः मैदानमा उत्रिएको दाबी गर्छन् ।
पछिल्लो समय जेन्जी जेन्जी आन्दोलनपछि राजनीतिप्रति बढेको असन्तोषका कारण धेरै शीर्ष नेताहरू चुनाव नलड्ने निर्णयमा पुगेको उनले बताए । त्यस्तो अवस्थामा आफू पनि पछि हट्दा गलत सन्देश जाने उनको बुझाइ छ । “जेन्जी आन्दोलनपछि कतिपय राजनीतिक नेताहरू विचलित हुनुभयो । सम्भवत पहिलोपटक ठूलो संख्यामा नेताहरू चुनाव लड्नबाट हच्किनुभयो । पूर्वप्रधानमन्त्रीहरू, पूर्वसभामुखहरू, पूर्वमन्त्रीहरूले चुनाव नलड्ने हो भने कस्तो सन्देश जान्छ भनेर मैले चुनावमा लडेको हुँ,” उनले स्पष्ट पारे । उनका अनुसार राजनीतिक नेतृत्वले चुनौतीका बेला मैदान छाड्नु हुँदैन ।
घिमिरेले आफ्नो अढाई वर्षको कार्यकाललाई संसदीय अभ्यास सुदृढ बनाउने चरणका रूपमा चित्रण गरेका छन् ।
“अढाई वर्षको संसदीय अभ्यास सुखद रह्यो । संसदलाई कमजोर पार्ने प्रयत्न सुरूबाटै भएको थियो । एकपछि अर्को बदनामी गराउने काम भयो । यही बीचमा पनि संसदीय अभ्यासलाई प्रभावकारी बनाउने काम भएको छ । सरकारलाई जवाफदेही बनाउने काम भएको छ । शान्तिप्रक्रिया सम्बन्धी विधेयक टुंगो लागेका छन् । आगामी दिनमा पनि संसदलाई कमजोर बनाउने प्रवृत्ति कायम रह्यो भने नेपालको संसदीय लोकतन्त्रप्रतिको विश्वास घट्छ,” उनले भने ।
पूर्वसभामुखहरू विभिन्न कारणले मैदानबाहिर रहँदा घिमिरेको उम्मेदवारीले ‘संसदीय नेतृत्व पनि जनमतबाट परीक्षण हुनुपर्छ’ भन्ने सन्देश दिएको विश्लेषकहरू बताउँछन् । घिमिरे यसपटकको निर्वाचनमा प्रतिस्पर्धा गर्ने एकमात्र सभामुख मात्र होइनन्, संसदीय निरन्तरताको मुद्दा बोकेर मैदानमा उत्रिएका पात्रका रूपमा पनि देखिएका छन्।





























प्रतिक्रिया