बागलुङ। साझा वाम उम्मेदवार कृष्ण अधिकारी चुनावी मैदानमा सक्रिय भएपछि बागलुङ निर्वाचन क्षेत्र नं १ मा चुनावी माहोल तातिन थालेको छ । अधिकारीसँगै अन्य दलका उम्मेदवारहरू पनि घरदैलो र संगठन विस्तारमा जुटेपछि क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो ।
नेकपा राजमोका साझा उम्मेदवार अधिकारीलाई पूर्व नेता चित्रबहादुर केसीको राजनीतिक विरासत जोगाउने चुनौती छ । यता नेपाली कांग्रेसका भीम श्रीस, नेकपा एमालेका हिरा केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्का मतदाता भेटघाट र घरदैलो अभियानलाई प्राथमिकतामा राखेर मैदानमा छन् ।
चुनावी प्रचारसँगै कृष्ण अधिकारी र समानुपातिक उम्मेदवार वलावती शर्मा कार्यकर्ता परिचालन, बैठक, भेला र रणनीति निर्माणमा व्यस्त देखिएका छन् । यही क्रममा जैमिनी नगरपालिका स्तरको नेकपा राजमोको संयुक्त कार्यकर्ता भेला कुश्मिसेरा बजारमा सम्पन्न भएको छ ।
भेलामा उम्मेदवार अधिकारीले जनताको मत र कार्यकर्ताको साथले संसदमा जनताको आवाज लैजाने उद्देश्यसहित उम्मेदवारी दिएको बताए । उनले विकासको सही मोडेल, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि एजेन्डामा आधारित मतदान आवश्यक रहेको धारणा राखे । अधिकारीले भने, “विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिन चुनावमा उत्रिएको हुँ, म सदैव जनताकै सुखःदुखमा संगै हुनेछु ।”
समानुपातिक उम्मेदवार वलावती शर्माले संविधान र लोकतन्त्रको रक्षा गर्न पार्टीका उम्मेदवारलाई जिताउन कार्यकर्ता र शुभेच्छुकले घरदैलो अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले भनिन्,“ घरदैलो अभियानलाई प्रभावकारी बनाउँदै संगठन सुदृढ र जनमुखी एजेन्डा अघि बढाउनु हाम्रो प्राथमिकता हो, म जनताको आवाज संसदमा पुर्याउन तयार छु, हरेक मतदाता हाम्रो अभियानको केन्द्रमा छन्,।”
भेलामा विभिन्न नेताहरूले चुनावी रणनीति र संगठनात्मक तयारीबारे धारणा राखेका थिए । भेलाबाट दिलबहादुर श्रीसको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तै चन्दबहादुर केसीको संयोजकत्वमा ५०१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ ।
युवातर्फ खगेन्द्र थापा संयोजक र विवश थापा सहसंयोजक रहेको समिति तथा महिलातर्फ शान्त कला शर्मा संयोजक र झपेन्द्रकुमारी मल्ल सहसंयोजक रहेको परिचालन समिति पनि गठन गरिएको छ ।
उम्मेदवारहरू सक्रिय बन्दै जाँदा बागलुङ–१ मा चुनावी सरगर्मी अझै बढ्ने देखिन्छ ।





























प्रतिक्रिया