जनमतमा लोकतन्त्र जिवित नरहेपछि विकल्प रोजेको हुँ -शरदसिंह यादव

जनमतमा लोकतन्त्र जिवित नरहेपछि विकल्प रोजेको हुँ -शरदसिंह यादव

केन्द्रबिन्दु
21
Shares

राजविराज । राष्ट्रिय जनअधिकार पार्टीका अध्यक्ष शरद सिंह यादवले जनमत पार्टीमा लोकतन्त्र जिवित नभएपछि आफ्नै नेतृत्वमा पार्टी स्थापना गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनमत पार्टीबाट मधेस र मधेसीको मुक्ति सम्भव नदेखेपछि नयाँ पार्टी स्थापना गरेको बताए । उनले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई समर्थन गरेर विजयी गराएपनि एकदुइ थान मन्त्रीका लागि सप्तरीबासीको जनमतलाई एमाले काँग्रेसको चरणमा अर्पण गरेको आरोप लगाए ।

सप्तरीमा आफ्नो परिवारको छुट्टै राजनीतिक पृष्ठभुमि भएको बताउँदै उनले जनमत पार्टीका अध्यक्ष डा. राउतको स्वच्छाचारी प्रवृत्तिले आफ्ना पूर्वजहरुको विरासत र योगदानको अपमान भएपछि जनमत पार्टी परित्याग गरेको बताए ।

सप्तरीको विकास र मधेसीको अधिकारका लागि पन्चायत कालदेखि आफ्नो परिवारले ठूलो योगदान गरेको स्मरण गर्दै उनले आफ्नो ठूलो बुवा पूर्वमन्त्री डम्बर नारायण यादव र बुवा योगेन्द्र प्रसाद यादव समेत मधेश राजनीति र मधेसी जनताप्रति समर्पित भएको बताए ।

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, नेता गजेन्द्रनारायण सिंह लगायतको नाम लिदै सप्तरी राजनीतिक रुप जागरुक भएको र सेवाको भावले राजनिती गर्ने गरेको बताउँदै उनले पुर्वजहरुले जग्गा बेचेर राजनीति गर्ने गर्थे भने अहिले के समस्या छ की राजनीति गरेर जग्गा किन्ने गरेको बताए ।

शिक्षा स्वास्थ, कृषि र पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको सप्तरी पछाडि परेको उल्लेख गर्दै अध्यक्ष यादवले सप्तरीको विकास र समृद्धिको लागि उम्मेदवारी दर्ता गराएको बताए ।

सप्तरीको महादेवा गाउँपालिका ३ बतनाहामा जन्म भई राजविराज ३ पोखरेल टोल निवासी उनले सप्तरीको विकासलाई द्रुत गतिमा अगाडि बढाउने तथा मधेसमा जन अधिकारको सरकार गठन गर्ने लक्ष्यसाथ क्षेत्रीय पार्टीको रुपमा स्थापना गरेको जानकारी दिए ।

मधेसको वैकल्पिक शक्तिको रुपमा पार्टी दर्ता गरे लागतै चुनावले छोपेपछि मधेस प्रदेशको ४ जिल्लामा संगठन विस्तार गर्न सकिएको र ६ ठाउँबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाएको बताए ।

Logo