सहिद पुत्री दिवान्सीले दिनदिनै सोध्छिन्, ‘मम्मी, बाबा खोइ ?’

सहिद पुत्री दिवान्सीले दिनदिनै सोध्छिन्, ‘मम्मी, बाबा खोइ ?’

अमिरिका चौधरी बोल्न खोज्छिन्, तर गला भरिन्छ, शब्द निस्कँदैनन्, काखमा छोरी छ, आँखामा आँसु र मोबाइलको स्क्रिनमा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर

केन्द्रबिन्दु
45
Shares

सिरहा। तीन वर्षीया दिवान्सीले फेरि सोध्छिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी बोल्न खोज्छिन्, तर गला भरिन्छ, शब्द निस्कँदैनन्। काखमा छोरी छ, आँखामा आँसु र मोबाइलको स्क्रिनमा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर।

बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज छ। चोकचोकमा नारा लागिरहेका छन्। तर लहान–१५ को सानो घरभित्र त्यो कोलाहलले सान्त्वना होइन, पीडा थपिरहेको छ। बाहिरको उत्सवले यहाँको शून्यतालाई झनै चर्काइदिएको छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छन्। टोलटोलमा भेला, घरघरमा उम्मेदवारका प्रतिबद्धता। तर अमिरिकाका लागि यी दृश्य उत्सव होइनन्, पीडादायी सम्झना हुन्। हुलमुल र नारा देख्नासाथ उनको मन त्यही दिनमा फर्किन्छ, जहाँबाट सिउँदोको सिन्दूर र छोरीको भविष्य सधैँका लागि बदलियो।

लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी थिए। सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी विजयको छातीमा प्रहरीले गोली चलायो। साथीहरूले तत्काल सिभिल अस्पताल पु¥याए, तर त्यतिन्जेल उनको मृत्यु भइसकेको थियो।

घरको कान्छो छोरा विजयको कमाइले घर चल्थ्यो—आमाबुबाको औषधि, घरखर्च र छोरीको भविष्य। पाँच वर्षदेखि काठमाडौँमा हाउस वायरिङको काम गर्दै आएका विजय शान्त स्वभावका थिए। तर अन्यायविरुद्ध चुप नबस्ने स्वभावले उनलाई सडकको आन्दोलनसम्म ल्यायो।

मृत्युको खबर पाएपछि दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किए। तर परिवारले विजयको जिउँदो मुख देख्न पाएन। घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत शव लहान ल्याइयो।

विजयकी आमा जलेश्वरी चौधरी अचेल प्रायः टोलाएर बस्छिन्। मोबाइलमा छोराको फोटो हेरेर मन बुझाउने प्रयास गर्छिन्। काखमा नातिनी लिएर बस्छिन्—विजयले छाडेको अन्तिम चिनो।

छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिकाको मन पोल्छ। अवोध छोरीलाई कसरी सम्झाउने भन्ने शब्द छैन। त्यसैले भन्छिन्, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ।” तर त्यो झुटो आश्वासनले उनको मन झनै भारी हुन्छ।

मम्मीभन्दा बढी बाबासँग बस्न रुचाउने दिवान्सी अचेल हरेक भीड र आवाजमा बाबालाई खोज्छिन्। चुनावी नाराले विजयकी आमालाई पनि पुराना घाउ ताजा बनाइदिन्छ। “छोरो बाँचेको भए ऊ पनि अरुजस्तै चुनावमा लाग्थ्यो,” जलेश्वरी भन्छिन्, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ।”

चुनावी अभियान सुरु भएपछि अमिरिकालाई उकुसमुकुस बढेको छ। बाहिर राजनीति चलिरहँदा उनी आफ्नै जीवन सम्हाल्न संघर्ष गरिरहेकी छन्। उनी भन्छिन्, “जसका लागि सहिद भए, ती माग पूरा होऊन्। जसले मेरो श्रीमानलाई मार्यो, उसलाई कारबाही होस्। फेरि आन्दोलन नहोस्, कोही सहिद बन्न नपरोस्।”

नगरपालिकाले वडा कार्यालयमा करारको जागिर दिएको छ। त्यसले केही राहत दिएको छ। तर त्यो राहतले विजयको अभाव कहिल्यै भरिँदैन। बाहिर चुनावी राजनीति चलिरहेछ, तर यो सहिद परिवार आफ्नै शोकसँग एक्लै जुधिरहेको छ।

Logo