भक्तपुर–२ लाई विकासको प्रयोगशाला बनाउने सपना छ: दीपशिखा

भक्तपुर–२ लाई विकासको प्रयोगशाला बनाउने सपना छ: दीपशिखा

जनताको आवाज मेरो एजेण्डा हो, मेरो लक्ष्य जनसेवामार्फत हरेक नागरिकलाई राज्यसँग जोड्नु हो

केन्द्रबिन्दु
6
Shares

भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फका उम्मेदवार तथा पार्टीका नेलाली कम्युनिस्ट पार्टी नेकपाका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो उम्मेदवारी पद र प्रतिष्ठाका लागि नभएर जनताको सेवाका लागि भएको बताएका छन् ।

निर्वाचन क्षेत्रमा मतदाता भेटघाट तथा चुनावी कार्यक्रममा कार्यकर्ता र स्थानीय नागरिकलाई सम्बोधन गर्दै दीपशिखाले आफू सधैँ जनताको सुख–दुःखमा साथ रहेको र आगामी दिनमा पनि जनतासँगै रहने दृढ प्रतिबद्धता व्यक्त गरे।

राजनीति मेरो लागि पेशा नभएर जिम्मेवारी हो। उनले भने,“मैले भक्तपुरका हरेक टोल, बस्ती र घरपरिवारका समस्या नजिकबाट देखेको छु, बुझेको छु, भोगेको छु, हिजो पनि जनताको सेवामा समर्पित भएको हुँ, आज पनि छु र भोलि पनि जनताकै सेवामा जीवन समर्पित गर्नेछु।”

दीपशिखाले भक्तपुरको राजनीतिमा दुई दशकभन्दा बढी समय बिताउँदै विभिन्न उतारचढाव देखेको स्मरण गर्दै अनुभवकै आधारमा जनताको समस्या बुझ्ने र समाधान गर्न सक्ने निधो गरेर चुनावमा होमिएको बताएका छन् ।

उनले प्रतिनिधिसभामा पुगेर सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।
“राज्यको पहुँच अझै पनि सबै नागरिकसम्म पुगेको छैन,” उनले भने, “मेरो लक्ष्य भनेको जनसेवामार्फत हरेक नागरिकलाई राज्यसँग जोड्नु हो, विशेषगरी भक्तपुर–२ का जनताको समस्या समाधान र विकास निर्माणको नेतृत्व गर्नु हो।”

उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र युवा पलायनजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै स्थानीय आवश्यकता अनुसार योजना निर्माण गरिने जिकिर गरे ।
“ठूला नारा होइन, ठोस काम चाहिन्छ,” उनले भने, “भक्तपुर–२ लाई विकासको प्रयोगशाला बनाउने मेरो सपना छ ।”भक्तपुर–२ का नागरिकको आवाज नै आफ्नो एजेन्डा भएको दीपशिखाको भनाई छ ।

कार्यक्रममा समानुपातिक उम्मेदवार तथा केन्द्रीय नेता दिलिपकुमार प्रजापति ‘भीष्म’ले वर्तमान निर्वाचनको पृष्ठभूमिबारे तीव्र टिप्पणी गरे। उनले अहिलेको चुनाव जनताको चाहनाले नभई अघिल्लो सरकारको कुशासन, अस्थिरता र दमनकारी नीतिका कारण निम्तिएको बताए ।

“देश कहिल्यै नदेख्नुपर्ने दुखद मोडमा धकेलिएको छ,” प्रजापतिले भने, “कांग्रेस–एमाले सरकारका गलत निर्णयले मुलुकलाई संकटतर्फ पु¥यायो।”

प्रजापतिले जेन्जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनुपरेको र हजारौँ घाइते हुनुपरेको घटनालाई स्मरण गराउँदै त्यसको राजनीतिक जिम्मेवारी खोज्नुपर्ने बताए ।
“नवजवान युवाको रगत र देशको अर्बौँ रुपैयाँ क्षतिको मूल्य कसले तिर्छ ?” उनले प्रश्न गरे।

उनले आन्दोलन दमन गरेर जनआवाज दबाउन खोजिएको आरोप लगाउँदै भने, “जनताको आवाज सुन्नुको साटो बल प्रयोग गरियो, त्यसको परिणाम आज देशले भोगिरहेको छ।”

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले विकास निर्माणमा ढिलासुस्ती, बेरोजगारी र सेवा प्रवाहमा देखिएको समस्याबारे गुनासो गरेका थिए। त्यसप्रति प्रतिक्रिया जनाउँदै दीपशिखाले जनताको सुझावलाई नीति र कार्यक्रमको आधार बनाइने बताए ।

नेताहरूले आगामी निर्वाचनमा कुशासन, अस्थिरता र दमनको राजनीतिलाई परास्त गर्दै जनमुखी विकल्प रोज्न मतदातालाई आग्रह गरेका छन्।

यसपटक ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धामा दीपशिखा, एमाले सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, रास्वपाका राजीव खत्री, नेमकिपाका रमेश वैद्य, राप्रपाका विक्रम थापा र उज्यालो नेपाल पार्टीका जितराम लामा छन् ।

यस क्षेत्रमा कुल ९८ हजार ३५६ मतदाता छन् । ३९ मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन् । मध्यपुर थिमी नगरपालिकाका ९ र सूर्यविनायक नगरपालिकाका १० वडा यस क्षेत्रमा पर्छन् ।

यस क्षेत्रबाट विगतमा नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन् ।

२०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए ।

Skip This
Skip This
Logo