फागुन २१ को पखाईमा धनुषाः पुराना अनुहारलाई ‘बालेन कार्ड’को डर !

फागुन २१ को पखाईमा धनुषाः पुराना अनुहारलाई ‘बालेन कार्ड’को डर !

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । आगामी फागुन २१ को निर्वाचन मिति नजिकिएसँगै मधेस प्रदेशको राजनीतिक केन्द्र मानिने धनुषामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू भाेट माग्दै गाउँ छिरेपछि चिया पसलहरू अहिले चुनावी बहसका मुख्य अखडा बनेका छन्। आ-आफ्नो गढ जोगाउने र नयाँ विरासत रच्ने दाउमा रहेका ‘हेभीवेट’ नेताहरूबीचको रस्साकस्सीले चुनावी माहौललाई थप रोचक बनाएको छ।

मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषामा चार निर्वाचन क्षेत्र छन् । १५८ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका यहाँ कुल ५,१४,५७१ मतदाता रहेका छन्। निर्वाचनलाई लक्षित गरी जिल्लामा ४,५२७ निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। उम्मेदवारहरूले विशेष गरी बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालन, कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा भ्रष्टाचार निवारणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। मतदाताहरूमा भने पुरानै अनुहार दोहोरिएका कारण कतै उत्साह त कतै असन्तुष्टि पनि देखिएको छ।

धनुषा -१

धनुषा निर्वाचन क्षेत्र नं. १ को चुनावी विगत निकै उतारचढावपूर्ण रहेको छ। यस क्षेत्रले विभिन्न समयमा फरक-फरक राजनीतिक विचारधाराका नेताहरूलाई संसदमा पठाएको छ। विगतका चुनावहरूमा यस क्षेत्रमा नेपाली कांग्रेस, एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा हुने गरेको देखिन्छ।

राम चन्द्र मण्डल (एमाले),राम पल्टन साह(नेपाली काँग्रेस),मात्रिका प्रसाद यादव(नेपाली कम्युनिष्ट पार्टी),किशोरी साह कमल (रास्व्पा ),मनोज मल्ल ठकुरी (राप्रपा),दिपक कार्की (जसपा नेपाल),ब्रहमदेव महतो (जनमत) जस्ता मुख्य उम्मेदवारहरु बीच प्रतिस्पर्धा हुने स्थानीय स्रोत बताउँछन् ।

२०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की २७,४३१ मतका साथ विजयी भएका थिए । कार्कीको निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादवले २१,४८३ मत प्राप्त गरेका थिए। २०७४ को निर्वाचनमा भने तत्कालीन वाम गठबन्धनबाट माओवादीका मातृकाप्रसाद यादव २६,४१८ मत ल्याएर विजयी भएका थिए ।

यसपटक पुनः यादव (नेकपा) र निवर्तमान सांसद दीपक कार्की (जसपा नेपाल) बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। तर, नेपाली कांग्रेसले यसपटक नयाँ अनुहारका रूपमा राम पल्टन साहलाई मैदानमा उतारेको छ।

जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले युवा मतदाताहरूलाई आकर्षित गरिरहेका छन्। अघिल्लो चुनावमा जनमतका किशोरी साह कमलले सम्मानजनक मत ल्याएकाले यसपटक उनीहरूको प्रभाव बढ्ने देखिन्छ। यसपटक उम्मेदवारहरूले पोस्टर र पम्प्लेटभन्दा बढी फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन्, जसले गर्दा बजारमा भन्दा मोबाइलमा चुनावी रौनक बढी देखिन्छ।

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन नहुनु र कृषिको समस्या समाधान नभएको भन्दै कतिपय मतदातामा पुराना नेताहरूप्रति निराशा पनि देखिएको छ। यस क्षेत्रमा मधेशी पहिचान र कम्युनिष्ट प्रभाव दुवै बलियो रहेकाले चुनावको नतिजा सधैं अनपेक्षित हुने गर्दछ।

धनुषा -२

यस क्षेत्रलाई मधेशको राजनीतिक शक्तिको “ब्यारोमिटर” का रूपमा पनि हेरिन्छ। यस क्षेत्रमा विगतका चुनावहरूमा कुनै एक दलको वर्चस्व रहनुको साटो मतदाताले अनुहार र एजेन्डा परिवर्तन गरिरहने प्रवृत्ति देखिएको छ । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका थिए। उनले २०,११२ मत प्राप्त गर्दा नेकपा एमालेका उमाशंकर अरगरिया मात्र १५७ मतको झिनो अन्तरले (१९,९५५ मत) पराजित भए ।

२०७४ को निर्वाचनमा भने तत्कालीन संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरिया ३२,०४४ मतका साथ भारी मतान्तरले विजयी भएका थिए । उसले माओवादीका रामचन्द्र झालाई पराजित गरेका थिए । यो क्षेत्रबाट विभिन्न समयमा लिला कोइराला (कांग्रेस), योगनारायण यादव (एमाले) र रामचन्द्र झा (नेकपा) जस्ता प्रभावशाली नेताहरूले प्रतिनिधित्व गरिसकेको छ।

नेकपाका तर्फबाट पाका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन् । २०७० पछि लगातार चुनावी पराजय भोग्दै गरेको झाका लागि यो निर्वाचन “अन्तिम अग्निपरीक्षा” जस्तै बनेको छ। नेपाली कांग्रेसले यसपटक दिनेशप्रसाद यादव (प्रसैला) लाई मैदानमा उतारेको छ । निवर्तमान सांसद रामकृष्ण यादवको स्थानमा दिनेशलाई टिकट दिइएपछि कांग्रेसभित्रको आन्तरिक समीकरण कसरी अगाडि बढ्छ भन्ने चासोको विषय छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले यस क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको छ। अघिल्लो चुनावमा जय नारायण साहले करिब १०,००० मत ल्याएका थिए ।

हालैका दिनमा यस क्षेत्र अन्तर्गतको कमला नगरपालिका लगायतका क्षेत्रमा सामाजिक र धार्मिक विषयलाई लिएर केही तनावपूर्ण स्थिति देखिएको थियो। प्रशासनले निर्वाचन सुरक्षाका लागि यस क्षेत्रलाई “अति संवेदनशील” सूचीमा राखेर विशेष निगरानी गरिरहेको छ। हरेक वर्ष हुने डुबान र कटान यस क्षेत्रको मुख्य समस्या हो। किसानहरूका लागि मलखाद र सिँचाइको सुनिश्चितता र यस क्षेत्रमा ठूलो संख्यामा रहेका मुसहर र अन्य विपन्न समुदायको जीवनस्तर सुधार प्राथमिकतामा राख्ने नेतालाई जिताउने पक्षमा स्थानीयहरु छन् ।

धनुषा -३

प्रदेशको राजनीतिक र सांस्कृतिक केन्द्र जनकपुरधामसमेत समेटिएको हुनाले यो क्षेत्र सधैं चर्चामा रहने गर्दछ। यो क्षेत्रलाई पहिले नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्थ्याे, तर अहिले मधेशवादी दल र एमालेले पटक-पटक चुनौती दिँदै आएका छन्। २०७९ को निर्वाचनमा नेकपा एमालेकी जुलीकुमारी महतो ३३,३८८ मतका साथ विजयी भएकी थिइन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल कुमार झा (२३,६८६ मत) लाई ९,७०२ को फराकिलो मतान्तरले पराजित गरेका थिए ।

२०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतो ३०,७४२ मत ल्याएर विजयी भएका थिए। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि (२७,८२८ मत) लाई पराजित गरेका थिए । तर यसपटक फागुन २१ को निर्वाचनका लागि यस क्षेत्रमा यसपटक त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले पुनः निधिलाई नै एकल उम्मेदवारका रूपमा अगाडि सारेको छ। अघिल्लो चुनावमा समानुपातिकमा बसेका निधि यसपटक प्रत्यक्षमा जितेर आफ्नो पुराना शाख फर्काउने दाउमा छन् ।

यता जुलीकुमारी महतो पुनः नेकपा एमालेबाट चुनावी मैदानमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झाको उम्मेदवारीले यस क्षेत्रको अंकगणित बिथोल्ने सम्भावना छ। युवा मतदाता र शहरिया क्षेत्रमा उनको प्रभाव बढिरहेको देखिन्छ ।

यस क्षेत्रमा उम्मेदवारहरूले राजर्षी जनक विश्वविद्यालयको सुदृढीकरण र जनकपुर–जयनगर रेलमार्गको प्रभावकारी सञ्चालन तथा अयोध्या-जनकपुर ६ लेन सडक र रामजानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्ने पहल विषयलाई प्राथमिकता दिएका छन् । यहाँ वैश्य समुदाय (तेली, सुडी, कानु) र यादव समुदायको मत निर्णायक मानिन्छ। उम्मेदवारहरू जातीय क्लस्टर मिलाउन व्यस्त छन्।

माघ ५ गते रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहको जनकपुरमा आयोजित सभापछि यो क्षेत्रमा नयाँ शक्तिको माहोल केही बढेको स्थानीय विश्लेषण छ।

धनुषा -४

यस क्षेत्रमा मुख्यतया नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर हुँदै आएको छ । २०७९ को निर्वाचनमा नेकपा एमालेका रघुवीर महासेठ ३२,२३६ मतका साथ विजयी भएका थिए । उनले नेपाली कांग्रेसका महेन्द्र यादव (३२,११२ मत) लाई मात्र १२४ मतको अत्यन्तै झिनो अन्तरले पराजित गरेका थिए । यो प्रतिष्पर्धा नेपालभरिकै चर्चाको विषय बनेको थियो।

२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट एमालेका रघुवीर महासेठ २२,५३२ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका महेन्द्र यादव दोस्रो भएका थिए । यी दुई नेताबीच यो ‘ह्याट्रिक’ भिडन्त जस्तै बनेको छ।

यसपटक मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र अभियानहरूको लहर देखिएको छ। स्थानीयका अनुसार “बालेन कार्ड”ले गर्दा यसपटक स्थापित नेताहरूलाई युवा मतदाता फकाउन हम्मे-हम्मे परिरहेको छ। नेकपाले यस क्षेत्रमा अखिल क्रान्तिकारीका युवा नेता संजय महतोलाई टिकट दिएर नयाँ प्रयोग गरेको छ, जसले गर्दा वामपन्थी भोट बाँडिन सक्ने अनुमान गरिएको छ। सडक पूर्वाधार, मुसहर बस्तीको उत्थान, र कृषिमा सिँचाइको समस्या यसपटक पनि मुख्य चुनावी एजेन्डा बनेका छन्।

Logo