उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको छ ।

यादवले नेपाल र जापानबीच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहँदै आएको बताए । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सहयोग, निकटता र मित्रताका साथ सम्बन्ध अघि बढिरहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत बनाएको बताए ।

नेपालले जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै यस वर्ष मनाइँदै गरिएको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको बताए । नेपालका लागि जापान एक महत्वपूर्ण र विश्वासिलो विकास साझेदार रहेको र सन् १९५४ देखि जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको बताए ।

मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति जापानको सहयोगका प्रमुख क्षेत्र रहेको उल्लेख गर्दै नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत् र पूर्वाधार विकासमा जापानको अनुभव, सीप र प्रविधिबाट लाभ लिने अपेक्षा राखेको बताए ।

नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुँदै गर्दा जापानबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै द्विपक्षीय व्यापार विस्तार र लगानी आकर्षणमा ठूलो सम्भावना रहेको बताए । कानुनी तथा संस्थागत सुधारमार्फत जापानी लगानीकर्ताको हित सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए ।

सन् २०१६ देखि जापान विकास छात्रवृत्ति कार्यक्रममार्फत नेपाली सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान हुँदै आएकोमा खुसी व्यक्त गर्दै गौतम बुद्धको शिक्षाबाट प्रेरित सामाजिक–सांस्कृतिक सम्बन्ध नेपाल र जापानबीच गहिरो रहेको बताए । बुद्ध जन्मस्थल लुम्बिनीले दुई मुलुकबीच बलियो पुलको काम गरेको उल्लेख गर्दै यसको विकासमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । बर्सेनि हजारौँ जापानी पर्यटक नेपाल भ्रमण गर्ने गरेको र भविष्यमा यो सङ्ख्या बढ्ने विश्वास पनि व्यक्त गरियो ।

जापानमा करिब तीन लाख नेपाली समुदायको उपस्थिति द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै नेपालले जापान सरकारको सद्भावना र सहयोगप्रति आभार व्यक्त गरेको छ ।

जापानका सम्राटको शुभजन्मोत्सवका अवसरमा काठमाडौँस्थित जापानी राजदूतावासले आयोजना गर्न लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन गरिएको निमन्त्रणाका लागि धन्यवाद दिँदै उपराष्ट्रपति यादवले सहभागी हुने बताए ।

राजदूत मायदा तोरुले नेपालको विकासमा जापानले निरन्तर सहयोग गर्ने बताए । जापानमा रहेका नेपालीले जापानी समाज र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको पनि उल्लेख गरे ।

Logo