तिमिल्सिनाको जित समग्र पर्वतको विजय हो: प्रचण्ड

तिमिल्सिनाको जित समग्र पर्वतको विजय हो: प्रचण्ड

केन्द्रबिन्दु
78
Shares

निर्मल पौडेल,पर्वत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार मनहरि तिमिल्सिनाको जित समग्र पर्वत र पर्वतेली जनताको विजयी हुने दाबी गरेका छन्।

नेकपा पर्वतले कुस्मामा आयोजना गरेको ‘ जनसंवाद’ कार्यक्रम लाई संबोधन गर्दै उनले यसपाली तिमिल्सिनाले जिते जिल्लाकै जित हुने दाबीका साथ नेता कार्यकर्ताहरुलाई युद्धस्तरमा चुनावमा होमिन आग्रह गरे।

भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठेको ‘जेन्जी’ पुस्ताको आवाजलाई पार्टीले पूर्ण अपनत्व दिएको भन्दै उनले भने, “देश र जनताको पक्षमा नयाँ संकल्पसहित अघि बढ्ने तागत निर्माण गर्न नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो।” उनले नेपाली कम्युनिस्ट पार्टी कसैसँग चुनावी तालमेल नगर्ने भन्दै कसैको वैशाखी नबनी आफ्नै तागतमा उभिएर पहिलो शक्ती बन्ने जिकिर गरे । उनले राजनीतिक मुद्दाको हिसावले कोही छ भने त्यो नेपाली कम्युनिस्ट पार्टी मात्र नयाँ भएको दावी गरे ।

प्रचण्डले भने,“संविधान,स्वाधिनता,राष्ट्रियता,संघिय लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, उत्पिडित, दलित, मुस्लिम, मधेशी, अल्पसंङ्ख्यक, पिछडिएका वर्गका मुद्दा हाम्रा हुन्,हामी हौँ नयाँ, अरु सवै पुराना हुन्,पार्टीलाई नयाँ दृष्टिकोण, नयाँ सोच सहित निर्वाचन आयोगमा दर्ता भएको नवीन शक्ति हो।”

प्रचण्डले कांग्रेस, एमाले र रास्वपा सहित सबै प्रतिद्वन्द्वी दलहरूलाई चुनौती दिंदै नेकपा पहिलो पार्टी बन्न धेरै दिन नभएको भन्दै त्यो आउने निर्वाचनले देखाउने बताए । उनले पार्टीको घोषणापत्र समाजवादको स्पष्ट मार्गचित्र भएको र संविधान संशोधनको मुद्दा आफ्नो एजेन्डामा रहेको जिकिर गरे ।

नयाँ चुनाव चिह्न ‘तारा’मा भोट हाल्न आम जनतालाई आग्रह गर्दै प्रचण्डले यसपटक महँगा सभा–सम्मेलनको साटो घर–घर र टोल–टोलमा पुगेर मतदातालाई बुझाउन नेता कार्यकर्तालाई आग्रह गरे।

एकताको बलबाट प्रतिकृयाबादीहरुलाई नेकपाले परास्त पार्ने प्रचण्डको दाबी छ । नेतृत्व राम्रो भएको भए पहिलो पटक बनेको नेकपा नटुक्रिने भन्दै ओलीको अहंकार र दंभका कारण अलग हुन परेको स्मरण गर्दै नयाँ नेकपा सवै परिवर्तनकारी सच्चा बामपन्थी शक्तिहरु मिलेर बनेको र टुटफूट अब इतिहासमा नदोहोरिने बताए।

पर्वतबाट जितको अभियान प्रारम्भ हुने विश्वास व्यक्त गर्दै अन्त्यमा प्रचण्डले भ्रष्टाचार र सुशासन कायम गर्न अन्तिम पलसम्म नेकपा लडिरहने बताए।

कार्यक्रममा नेकपाका केन्द्रिय नेता,सर्वसाधारण, युवा, विद्यार्थी, बुद्धिजीवी, उद्यमी र समाजका प्रमुख व्यक्तित्वहरूको व्यापक सहभागिता रहेको थियो।

Logo