जेनजी आन्दोलनको प्रभावः ठूला दलबाट पनि ३० वर्षमुनिका उम्मेदवारहरु चुनावी मैदानमा

जेनजी आन्दोलनको प्रभावः ठूला दलबाट पनि ३० वर्षमुनिका उम्मेदवारहरु चुनावी मैदानमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा युवा उम्मेदवारहरूको सहभागिता निकै चर्चाको विषय बनेको छ । विशेषगरी जेन–जी आन्दोलन र युवाहरूको राजनीतिक चासोका कारण यसपटक ३० वर्ष मुनिका उम्मेदवारहरू अधिकांशको नजरमा केन्द्रित छन्।

नेपालको कानूनअनुसार प्रतिनिधिसभाको उम्मेदवार हुन २५ वर्ष पुग्नुपर्छ । यस पटक २५ वर्षकै उमेरका धेरै युवाहरूले उम्मेदवारी दर्ता गराएका छन्। २५ देखि ३० वर्ष उमेर समूहका दर्जनौं उम्मेदवारहरू चुनावी मैदानमा छन् । जेनजी आनदोलन पछि युवाहरुका मुद्धामा केन्द्रीत भएको सन्देश दिन पनि ठूला दलहरूको विगतमा भन्दा सन्तुलित उम्मेदवारहरु तय गरेका छन् ।

निर्वाचनका उम्मेदवारहरुको सूची हेर्दा स्वतन्त्र उम्मेदवार र नयाँ राजनीतिक शक्तिहरूमा ३० वर्ष मुनिका युवाहरूको आकर्षण बढी देखिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले पनि केही युवा अनुहारलाई टिकट दिएका छन् । कांग्रेस र एमालेले केही नयाँ युवाहरूलाई चुनावी मैदानमा उतारेको छ, यद्यपि उनीहरूको ठूलो हिस्सा अझै पनि ५० वर्षमाथिकै उम्मेदवारले ओगटेको छ।

२०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले ३० वर्ष मुनिका उम्मेदवारहरू कम उठाए पनि योगेश गौचन थकाली (३२ वर्ष) र सचिन तिमल्सिना (३३ वर्ष) जस्ता युवाहरूलाई ३५ वर्ष मुनिको समूहमा प्राथमिकता दिएको छ।
३० बर्षमुनि उम्मेदवार बनेका एमालेबाट रिमा कुमारी यादव पर्सा–२, ओखलढुंगाबाट अस्मिता थापा र सर्लाही ४ मा अमनिश कुमार यादव छन् ।

माओवादीबाट २७ वर्षीय अजय कुशवाहा सबैभन्दा कान्छो उम्मेदवारका रूपमा मैदानमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० वर्ष मुनिका करिब १२ जना युवालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । रास्वपाबाट काठमाडौं–५ मा सस्मित पोख्रेल, झापा १ मा निशा डाँगी उम्मेदवार बनेकी छन् उनी यस अधि पनि समानुपातिक सांसद रहेकी थिइन् । तेह्रथुमबाट सुरेन्द्र कार्की, शुशिला कार्की नेतृत्वको सिरकारको मन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ता सिरहा–१ बाट चुनाव उठेका छन् ।

यसैगरी कैलाली–२ बाट चुनाव उठेका सामाजिक अभियन्ता केपी खनाल पनि ३० बर्षभन्दा कम उमेरका रहेका छन् । रास्वपा वरिष्ठ नेता बालेनका प्रमुख सहयोगी भुपदेव शाह अछाम–२ बाट चुनाव लडेका छन् भने रास्वपाकै सोबिता गौतम चितवन–३ बाट उम्मेदवार बनेकी छन् । उनी पनि ३० वर्षभन्दा कम उमेरकी सांसद हुन् ।

राप्रपाबाट सप्तरी क्षेत्र २ मा अजयकुमार दास चुनावी मैदानमा छ । हाल २७ वर्ष रहेका उनले निर्वाचन आयोगलाई पेश गरेको विवरणमा उल्लेख गरिएको छ ।

२०८२ को भदौमा भएको युवा आन्दोलन पछि राजनीतिमा युवाहरूको हस्तक्षेप बढ्नुपर्ने जनदबाबका कारण पनि यसपटक ३० वर्ष मुनिका उम्मेदवारहरूको संख्यामा वृद्धि भएको विश्लेषण गरिएको छ। यसपटक मतदाताहरूमा युवाहरूको संख्या ५२ प्रतिशतभन्दा बढी रहेकाले उम्मेदवारहरूले पनि ‘पुरानो पुस्ताको विकल्प युवा’ भन्ने नारालाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।

Skip This
Skip This
Logo