उम्मेदवार र मतदाताविच खुला बहसको वातावरण मिलाउन सरोकारवालालाई तिमिल्सिनाको आग्रह

उम्मेदवार र मतदाताविच खुला बहसको वातावरण मिलाउन सरोकारवालालाई तिमिल्सिनाको आग्रह

केन्द्रबिन्दु
81
Shares

पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले उम्मेदवारहरूबीच सार्वजनिक बहस आवश्यक रहेको बताएका छन् । चुनावी कार्यक्रममा सक्रिय तिमिल्सिनाले लोकतन्त्रलाई सुदृढ बनाउन खुला र विषयकेन्द्रित बहस अपरिहार्य हुने बताए ।

तिमिल्सिनाले चुनावी समयमा गरिने वाचा र घोषणाको व्यावहारिकता परीक्षण गर्न सार्वजनिक बहस प्रभावकारी माध्यम हुने उल्लेख गरेका छन्। उनले केन्द्रविन्दुलाई भने, “धेरै घोषणा गरिन्छन्, तर ती कति कार्यान्वयनयोग्य छन् भन्ने कुरा खुला बहसबाट प्रस्ट हुन्छ,” उनले भने, “पब्लिक डिवेटले मतदातालाई तुलना गर्ने अवसर दिन्छ । कोसँग स्पष्ट योजना छ, कोसँग तथ्यमा आधारित तर्क छ र कसले जनताका ज्वलन्त मुद्दालाई प्राथमिकता दिन्छ ।”

उनले सार्वजनिक बहसले पारदर्शिता बढाउने र व्यक्तित्वभन्दा नीति तथा कार्यक्रमलाई केन्द्रमा ल्याउने धारणा राखेका छन् । आरोप–प्रत्यारोपको साटो तर्क, प्रमाण र समाधानको संस्कृतिले लोकतन्त्रलाई बलियो बनाउने तिमिल्सिनाको जिकिर रहेको छ।

स्थानीय तथा राष्ट्रिय विकास, रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता विषयमा उम्मेदवारको स्पष्ट धारणा जनताले प्रत्यक्ष सुन्न पाउनुपर्ने उनले बताए । लोकतन्त्र बलियो बनाउन मतदातालाई सूचित निर्णय लिन सक्षम बनाउनु आवश्यक रहेको औंल्याउँदै त्यसका लागि पब्लिक डिवेट प्रभावकारी माध्यम भएको दाबी गरे ।

तिमिल्सिनाले आफू खुला, शिष्ट र विषयकेन्द्रित सार्वजनिक बहसका लागि तयार रहेको घोषणा गरे । साझा मञ्च, नागरिक समाज वा सञ्चार माध्यमले बहसको प्रबन्ध गरे आफू सहभागी हुन तत्पर रहने उनले बताए ।

Logo