जुम्ला। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतपत्र ढुवानी सुरु भएको छ। निर्वाचन आयोगले छपाइ सकिएका मतपत्र सम्बन्धित जिल्लामा पठाउन थालेको जनाएको छ।
आयोगका अनुसार कर्णालीका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी भइरहेको छ। यी जिल्लाका १२ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र तयार भइसकेका छन्।
हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ। आयोगका अनुसार अहिलेसम्म १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको छ।
मतपत्र छपाइसँगै प्याकिङको काम पनि जारी छ। हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ भइरहेको छ। साथै, दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाइ भइरहेको छ। यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी जिल्लामा पठाइसकिएको छ।
समानुपातिक प्रणालीतर्फ माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको छ। ती मतपत्र प्याकिङ र रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य राखिएको छ। यसको छपाइ माघ १६ गतेदेखि सुरु भएको हो।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, प्याकिङ र जिल्लामा ढुवानीको कामलाई तीव्र बनाएको जनाएको छ।





























प्रतिक्रिया