काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मुलुकभर चुनावी गतिविधि बढेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार सुरु भएसँगै चुनावी माहोल थप सक्रिय बनेको छ ।
काठमाडौँ क्षेत्र नं ५ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा उपप्रधानमन्त्री, मन्त्री, पार्टीका प्रमुख, वरिष्ठ उपाध्यक्ष र महामन्त्री भइसकेका नेताहरू चुनावी मैदानमा छन् ।
काठमाडौँ–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा (एमाले) का ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मतसहित विजयी भएका थिए । एमालेका पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए भने रास्वपाका प्रणयशम्शेर राणाले पाँच हजार ४७७ र राप्रपाका रामप्रसाद उप्रेतीले तीन हजार १६२ मत पाएका थिए ।
कांग्रेसका उम्मेदवार पौडेलले सुशासन, आर्थिक विकास, सामाजिक न्याय, सांस्कृतिक संरक्षण, प्रविधियुक्त शिक्षा, स्वास्थ्य सेवा, खानेपानी व्यवस्थापन र रोजगारीलाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
एमालेका उम्मेदवार पोखरेलले शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, रोजगारी सिर्जना र सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् ।
राप्रपाका उम्मेदवार थापाले राष्ट्रियता, भ्रष्टाचार नियन्त्रण, हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनालाई चुनावी एजेण्डा बनाएका छन् ।
नेकपाका उम्मेदवार शर्माले भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य सुधार तथा सेवा प्रवाहलाई मुख्य मुद्दा बनाएका छन् ।
रास्वपाका उम्मेदवार पोखरेलले पारदर्शिता, जवाफदेहिता र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् ।
यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, संयुक्त नागरिक पार्टी, प्रगति लोकतान्त्रिक पार्टी, जय मातृभूमि पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, त्रिमूल नेपाल, आम जनता पार्टीलगायतका दलका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । पाँच स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दिएका छन् ।
गत निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ११ हजार ६४७, कांग्रेसले १० हजार ४३, एमालेले नौ हजार ६५२, राप्रपाले सात हजार २०१ र माओवादी केन्द्रले एक हजार २२४ मत प्राप्त गरेका थिए ।
आगामी निर्वाचनका लागि देशभर प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवारको नाम बन्द सूचीमा छ ।
निर्वाचनका लागि देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।





























प्रतिक्रिया