काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले सुदूरपश्चिमलाई अब “सुदूर” मात्र नभई “सुनजिक पश्चिम” बनाउने उद्घोष गरेका छन् । चुनावी अभियानका क्रममा धनगढी सभामा उनले यस्ताे बताएका हुन् ।
नेता शाहले रास्वपाको मुख्य एजेन्डा विपन्न र गरिब जनताको पहुँचमा गुणस्तरीय शिक्षा र स्वास्थ्य पुर्याउनु रहेको बताए । “खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा र स्वास्थ्य उपचार पाउनु पर्छ, त्यो नै हाम्रो मुख्य एजेन्डा हो।”
सुदूरपश्चिमको मौलिक भाषा र संस्कृतिलाई सम्मान गर्दै उनले आफ्नो सम्बोधनमा यस क्षेत्रको गीत, सङ्गीत र कलालाई राष्ट्रिय मूलधारमा जोड्नुपर्नेमा जोड दिएका थिए ।
उनले विकास निर्माणमा हुने ढिलासुस्तीको कडा आलोचना गर्दै २० वर्षमा पनि नसकिने आयोजनाहरू डेढ वर्षभित्रै सम्पन्न गरिनुपर्ने धारणा राखे । “बाटो बनाउन कसैको भोट चाहिन्छ भन्ने छैन, रास्वपा सरकारमा गए सबै नेपाली हिँड्ने बाटो बनाउँछ,” उनले थपे ।
नेपाललाई स्विजरल्यान्ड बनाउने पुराना नेताहरूको आश्वासनलाई टिप्पणी गर्दै बालेनले सुदूरपश्चिममै स्विजरल्यान्डभन्दा सुन्दर पर्यटकीय स्थलहरू रहेको स्मरण गराए । “हामीसँग बडीमालिका, रामारोशन र खप्तड जस्ता अनमोल सम्पत्ति छन्। हामीले त मात्र यसको सही प्रचार र विकास गर्न नसकेका हौँ,” उनको तर्क थियो।
उनले आफूहरू परम्परागत शैलीमा भोट माग्न नभई जनताको कामको सूची माग्न आएको बताए । उनले भने, “तपाईंहरूले भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। हामीलाई कामको लिस्ट दिनुहोस्, हामी काम गरेर देखाउँछौँ।”





























प्रतिक्रिया