बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड

बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड

केन्द्रबिन्दु
0
Shares

गलेश्वर। म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार शैली बदल्दै घरदैलो, साना कार्यक्रम र डिजिटल माध्यममा जोड दिएका छन्।

विगतका निर्वाचनमा भित्तामा टाँसिने पोस्टर–पम्प्लेट र ठूला सभाभन्दा यसपटक उम्मेदवारहरूले टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दैछन्। साथै सामाजिक सञ्जालमार्फत डिजिटल प्रचार सामग्रीको प्रयोगलाई व्यापक प्राथमिकता दिइएको छ।

उम्मेदवारसँगै नेता र कार्यकर्ताले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिएका छन्। उम्मेदवारले आ—आफ्नो पालिकामा प्रचार गर्ने जिम्मा पाएका छन्। उनीहरूले मतदातासँग प्रत्यक्ष भेटघाटका साथै फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाएका छन्।

स्वतन्त्र उम्मेदवार महावीर पुनले टोल–टोलमा हाते माइकमार्फत जनतालाई सम्बोधन गर्दै ‘लौ है जनता हो! महावीर आयो’ भन्ने शैलीमा प्रचार गरिरहेका छन्।

नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीको सचिवालयले प्रत्यक्ष भेटघाट र डिजिटल प्रचार प्रसारलाई प्राथमिकता दिएको छ। नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि घरदैलो र डिजिटल माध्यमबाट मतदातासँग जोडिरहेका छन्। एमालेका नेता प्रकाश पौडेलका अनुसार विगतमा गरेका विकास कार्य र उम्मेदवारका प्रतिबद्धताहरू मतदातासम्म पु¥याउन भिडियो, गीत, टिकटक र पोडकास्ट प्रयोग गरिएको छ।

स्वतन्त्र उम्मेदवार पुनका सहयोगी चित्र तिलिजाले पनि प्रत्यक्ष भेटघाट र डिजिटल प्रविधि भरपुर प्रयोग गरिएको बताए। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ। भेटघाट र प्रत्यक्ष संवाद फेसबुकमा लाइभ गर्दै प्रचार तीव्र बनाइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर सुवेदी, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरे लगायत उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन्। यहाँ एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी १२ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्।

उम्मेदवारले राष्ट्रिय गौरवका आयोजना जस्तै कालीगण्डकी करिडोर कालोपत्र, सडक निर्माण, खानेपानी, शिक्षा, कृषि प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा र रोजगारीलाई प्राथमिकतामा राखेका छन्।

नयाँ उम्मेदवारको उपस्थिति, दलीय राजनीतिको बिचमा स्वतन्त्र उम्मेदवारको उपस्थिति र बदलिँदो प्रचार शैलीले निर्वाचनलाई रोचक बनाएको स्थानीय बुद्धिजीवी राजु केसीले बताए।

डिजिटल प्रविधि प्रयोग बढेसँगै साइबर सुरक्षा चुनौती बढेको छ। उम्मेदवारको सामग्रीमा अर्का समर्थकले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ। सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडाइका साथ निगरानी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

म्याग्दीमा एक निर्वाचन क्षेत्र, छ पालिका र ४५ वटा वडा छन्। यहाँ ८६ हजार ३९७ मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ।

Logo