म नेता होइन जनताको सेवक हुँ, जनताले दिने जिम्मेवारी मेरो कर्तव्य हो : ज्ञामनाथ गैरे ‘अनिल’

म नेता होइन जनताको सेवक हुँ, जनताले दिने जिम्मेवारी मेरो कर्तव्य हो : ज्ञामनाथ गैरे ‘अनिल’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले गल्कोट नगरपालिका–७ मल्लमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनताको आशा, भरोसा र विश्वासलाई कहिल्यै निराश हुन नदिने प्रतिबद्धता जनाएका छन् । बाम गठबन्धनका साझा उम्मेदवार गैरेले मतदातालाई परिवर्तनको संवाहक बन्न आग्रह गर्दै तारा चिन्हमा मतदान गर्न आह्वान गरे।

बाग्लुङबासीको सुखदुःखमा सधैँ साथ दिँदै आएको उल्लेख गर्दै उनले जनताको माया, साथ र भरोसालाई शिरोपर राखेर यहाँका नागरिकको चाहना अनुसार विकास र समृद्धिको यात्रालाई तीव्रता दिने बताए। उनले भने, “हामी थाक्ने छैनौँ, न झुक्ने छौँ, निरन्तर लागिरहनेछौँ। यहाँहरूको साथ र हौसलाले मलाई गम्भीर मात्र बनाएको छैन, अझ ठूलो उत्प्रेरणा दिएको छ। समग्र विकास र युवाहरूको भविष्य सुनिश्चित गर्न म तपाईंहरूको प्रतिनिधि बन्ने अठोटका साथ मैदानमा उत्रिएको छु। तपाईंहरूकै छोरा, दाजु र भाइको रूपमा तपाईंको एक अमूल्य मतले बाग्लुङ–२ को मुहार फेर्न सक्छ।”

बाग्लुङले विकासका धेरै सम्भावना बोके पनि राजनीतिक अस्थिरता र प्राथमिकताको अभावका कारण अपेक्षित गति लिन नसकेकोमा दुख व्यक्त गर्दै परिवर्तन सम्भव भएको र त्यो आँफूले पुरा गरेर छाड्ने जिकिर गरे। “अब बाग्लुङलाई अवसरबाट वञ्चित राख्ने दिन सकिएको छ,” उनले भने, “जनताको भरोसालाई शक्तिमा बदल्दै शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्नेछु।”

गैरेले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने गरी ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै भने, “अब बाग्लुङका युवाले बाध्य भएर विदेशिनु पर्ने अवस्था अन्त्य गर्नुपर्छ। उत्पादन, उद्यम र प्रविधिमा आधारित रोजगारी सिर्जना गरेर युवाको भविष्य यहीँ सुनिश्चित गर्ने मेरो स्पष्ट योजना छ।”

गैरेले स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गरी समृद्ध बाग्लुङ निर्माण गर्ने लक्ष्य रहेको बताए। “हाम्रो भूमि, हाम्रो श्रम र हाम्रो संकल्प मिल्यो भने बाग्लुङ देशकै नमुना जिल्ला बन्न सक्छ,” उनले भने, “म जनताको सेवकका रूपमा इमानदार, पारदर्शी र उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु,म नेता होइन, जनताको सेवक हुँ,राजनीति पेशा होइन सेवा हो ।”

त्यस्तै, उनले विकास निर्माणमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने धारणा राख्दै भने “यो निर्वाचन केवल व्यक्तिको जित–हार नभएर बाग्लुङको भविष्यको दिशा तय गर्ने अवसर हो,तपाईंहरूको साथ, सुझाव र सहभागितासहित समावेशी विकासको नयाँ अध्याय सुरु गर्नेछु।”

उनले मतदातासँग भावनात्मक अपिल गर्दै अन्त्यमा भने, “तपाईंहरूले दिएको जिम्मेवारीलाई म अवसर होइन, कर्तव्यका रूपमा लिनेछु। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो, यही शक्तिका आधारमा बाग्लुङ–२ लाई विकास, समृद्धि र आत्मनिर्भरताको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”

Skip This
Skip This
Logo