नेकपा विवाद : यस्तो रह्यो पछिल्लो ६ दिन 

नेकपा विवाद : यस्तो रह्यो पछिल्लो ६ दिन 

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला फेरि सतहमा आएको छ । गत कात्तिक २१ गते सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाइपास गरी अनौपचारिक बैठक डाकेसँगै नेकपा विवाद फेरि सतहमा आएको हो । पछिल्लो छ दिनको अवधिमा दुबै पक्षबाट एकले अर्कोलाई हदैसम्मको आरोप प्रत्यारोप लगाउने श्रृङखला ह्वातै बढेको छ । प्रधानमन्त्री ओलीले दुई तिहाइको सरकारलाई हल्लाउने मुख्य जड नेकपाका पाँच भाइ रहेको आरोप लगाएका छन् भने दाहाल–नेपाल पक्षले इतिहासकै बलियो अर्थात दुई तिहाइ नजिकको सरकारले पनि प्रधानमन्त्री ओलीको हठका कारण जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै आएका छन् । दुबै पक्षको आरोप प्रत्यारोपका बीच यस्तो रह्यो पछिल्लो छ दिन ।

कात्तिक २१
नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक कात्तिक २१ गते पहिलो पटक बसेको थियो । पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको उक्त बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । नेकपामा सचिवालय नौ सदस्य रहेका छन् । जसमध्ये चार जना भने उक्त बैठकमा सहभागी भएका थिएनन् । जसमध्ये प्रम ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल रहेका थिए । अनौपचारिक बैठकका लागि सचिवालयका नौ जना सदस्यलाई नै बैठकमा बोलाइएको थियो । उक्त बैठकले सचिवालय बैठकका लागि प्रम एवं अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

कात्तिक २२
नेकपाका कार्यकारी अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई बालुवाटार पुगेर भेटेका थिए । शनिबारको उक्त भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रम ओलीलाई लिखित पत्र समेत बुझाएका थिए । उक्त लिखित पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल गर्नुपर्ने उल्लेख गरिएको थियो ।सचिवालयका बहुमत सदस्यको लिखित पत्र बुझ्दै प्रम ओलीले छलफलपछि निर्णय गर्ने बताएका थिए ।

कात्तिक २३
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बीच भेटवार्ता भएको थियो । प्रम ओलीले वरिष्ठ नेता नेपाललाई भेटवार्ताका लागि बालुवाटारमै बोलाएका थिए । उक्त भेटवार्तामा स्थायी कमिटी सदस्यहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त समेत उपस्थित भएका थिए । बालुवाटारको बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य रावल, पाण्डे र पन्त वरिष्ठ नेता नेपाल निकटका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि वरिष्ठ नेता नेपालसँग सहयोगको आग्रह गरेका थिए । वरिष्ठ नेता नेपालसहितका स्थायी कमिटी सदस्यसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सहयोग मागेका थिए् । २३ गतेको भेटमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि प्रधानमन्त्रीका तर्फबाट के के प्रस्ताव छन् भन्दै राख्न आग्रह गरेका थिए । यस अघि पनि कार्तिक ५ र ११ गते प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेका थिए । ती भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेका थिए । तर, वरिष्ठ नेता नेपालले पटक पटक विधि र पद्धतिमा जोड दिँदै आएका छन् ।

कात्तिक २४
नेकपाका दुई अध्यक्ष बीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा महासचिव पौडेलले पार्टी विधान अनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएका थिए । अध्यक्ष ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधान अनुसार बैठक बोलाउने उनको भनाइ थियो ।

उक्त दिन कार्यकारी अध्यक्ष दाहालले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि मात्र अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएको जवाफ दिएका थिए । साथै उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुनेमा समेत जोड दिएका थिए । प्रम ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी गरेका थिए ।

कात्तिक २५
खुमलटारमा ओली दूतको प्रचण्डसँग भेट
नेकपाका दुई पाइलटबीच टकराब चुलिएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका थिए । मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा मुख्यमन्त्री पोखरेलले दुई अध्यक्ष बीच सहमति गरेर जानुपर्ने सुझाव दिएका थिए । ओली निकट मानिने पोखरेलसँगको छलफलमा कुनै उपलब्धी हात नलागेको समाचार विवरण सार्वजनिक भएको थियो ।

प्रम ओलीसँग बालुवाटारमा प्रचण्डको भेट
प्रधानमन्त्री एवं अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त भेटमा पार्टीभित्रको जारी विवादबारे छलफल गरिएको थियो । तर २५ गतेको भेटमा पनि कुनै निष्कर्ष भने निस्किन सकेन । प्रम ओलीसँग भेटवार्ता गरेपछि कार्यकारी अध्यक्ष दाहाल धुम्बाराहीमा बैठकका लागि गएका थिए ।

धुम्बाराहीमा अनौपचारिक बैठक
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अनौपचारिक बैठक डाकेका थिए । मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको उक्त बैठकमा प्रचण्डसहित सचिवालयका पाँच सदस्य उपस्थित भएका थिए । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठको बताएका थिए । अनौपचारिक बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले भने–‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ । पर्सि कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ ।’ उक्त बैठक अनौपचारिक रूपमा बसेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

कात्तिक २६
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधानको व्यवस्था अनुसार सचिवालय बैठक बस्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष बीच भएको छलफलमा प्रधानमन्त्रीले प्रचण्डलाई पार्टी विधानको व्यवस्था अनुसार महासचिवले बैठक बोलाउने बताएका थिए । प्रचण्डसहितका ५ सचिवालय सदस्यले बैठकका लागि लेखेको पत्रमा प्रधानमन्त्रीले तोक लगाइसकेका छन् । नेकपाको विधान अनुसार सचिवालयका बहुमत सदस्यले बैठक माग गरेको १५ दिनभित्र सचिवालय बैठक बोलाउनुपर्ने व्यवस्था रहेको छ ।

विवाद त्यतिकै छाेडेर प्रम किमाङथाकामा 

नेकपाभित्र चर्किएको विवाद यथावत रहेकै बीच प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल–चीन सीमा क्षेत्र किमाथांका गएका छन् । संखुवासभास्थित किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी) को निरीक्षण गर्न उनी आज त्यसतर्फ गएका हुन् । संखुवासभा पुगेका उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नेछन् । यसक्रममा ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पनि अनुगमन गर्ने कार्यक्रम रहेका छ ।

यस बाहेक अरू कुनै विशेष कार्यक्रम नभएको बताइएको छ । ०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले अरुण तेस्रो आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका थिए । प्रधानमन्त्री ओली कार्यक्रम सकेर आजै दिउसो साढे ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo