झापा । प्रतिनिधि सभा निर्वाचन निश्चित हुँदै गर्दा विघटित प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सभामुख देवराज घिमिरेलाई सोध्थिन्– सम्माननीयज्यू फेरि चुनाव लड्ने ? घिमिरेले जवाफ दिन्थे– मेरो पूर्वपार्टीले के भन्छ ?
सभामुख निर्वाचित भएपछि पार्टीबाट राजीनामा दिएका कारण घिमिरे औपचारिकरुपमा एमालेको कुनै जिम्मेवारीमा थिएनन् । उनी अन्तिम समयसम्म पनि चुनाव लड्ने कि नलड्ने दोधारमै थिए । संयोगले एउटै निर्वाचन क्षेत्रमा होइन, एउटै स्थानीय तह अर्जुनधारा निवासी घिमिरे र राना संसदको नेतृत्वमा पुगेका थिए । उनीहरूबीच संसदमा तीन वर्षसम्म कुनै विवाद रहेन । कतिपय विषयमा सभामुखले आफ्नो निर्णय सुनाएपछि रानाले प्रतिवाद गरिनन् भने रानाको निर्णयमा सभामुखले साथ दिए ।
उपसभामुख इन्दिरा रानाले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र लेखेको विषय संसदमा कांग्रेस, एमालेले उचाल्दा सभामुखले रोक लगाएका थिए । उनले मानवीय त्रुटिलाई राजनीतिक रंग दिन नहुने भन्दै दलहरूलाई जिम्मेवार बन्न निर्देशन दिएका थिए ।
सम्भवतः पाँच वर्षे कार्यकाल पूरा भएको भए सभामुख–उपसभामुख चुनाव नलड्ने मुडमा रहेको जानकारहरू बताउँछन् । तर, आधा समयमा नै संसद विघटन भएपछि दुवै एक अर्काविरूद्ध आमने सामने भएका छन् ।
उपसभामुख निकट स्रोतका अनुसार राना अन्तिम समयमा पनि घिमिरेविरुद्ध चुनाव लड्न चाहन्नथिन् । उनले घिमिरेलाई ठट्टै ठट्टामा भनेकी थिइन्– सम्माननीयज्यू अब समानुपातिकबाट आउनुस्, म झापा २ मा चुनाव लड्छु । घिमिरेले पनि भन्थे– तपाईं झापामा भन्दा पनि काठमाडौंबाट चिनिनुभएको छ, काठमाडौंकै कुनै क्षेत्र रोज्ने कि ?
विगतको चुनावमा झापा २ बाटै निर्वाचित भएकाले घिमिरेको नयाँ निर्वाचन क्षेत्रमा जाने कुरै थिएन, समयले रानालाई पनि सोही निर्वाचन क्षेत्रले उम्मेदवारमा खडा गरेको छ । विघटित प्रतिनिधिसभाका सभामुख घिमिरे र इन्दिरा रानामगर एउटै निर्वाचन क्षेत्रमा आमनेसामने छन्। संसदीय अभ्यासमा सभामुख–उपसभामुखबीच सार्वजनिक प्रतिस्पर्धा असामान्य परिघटना हो। तर झापा–२ मा यो प्रतिस्पर्धा असामान्य भए पनि असभ्य छैन।
प्रतिस्पर्धा छ, कटुता छैन
घिमिरे नेकपा एमालेबाट दोहोरिने लक्ष्यसहित मैदानमा छन्। ०७९ मा २८ हजार ७१६ मत ल्याएर विजयी भएका उनी यसपटक विकासको निरन्तरता र “स्थिर प्रतिनिधित्व”को एजेन्डा बोकेर मतदातामाझ पुगिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी रानामगर महिला अधिकार, सामाजिक न्याय र समावेशीताको भाष्यलाई चुनावी केन्द्रमा राख्दैछिन्। समानुपातिक सांसदको अनुभवलाई प्रत्यक्ष जनादेशमा रूपान्तरण गर्ने उनको प्रयास छ।
तर उल्लेखनीय पक्ष के छ भने—दुवै नेताले एक–अर्काविरुद्ध व्यक्तिगत टिप्पणी नगर्ने समझदारीजस्तै वातावरण बनाएका छन्। सार्वजनिक भाषणमा उनीहरू नीति, कार्यक्रम र दृष्टिकोणमा केन्द्रित छन्, व्यक्तिमा होइन।
‘मर्यादित प्रतिस्पर्धा’को सन्देश
नेपालको चुनावी संस्कृतिमा आरोप–प्रत्यारोप, व्यक्तिगत आक्षेप र दलगत ध्रुवीकरण सामान्य मानिन्छ। त्यस सन्दर्भमा झापा–२ को परिदृश्य फरक देखिन्छ।
सभामुख–उपसभामुख पद सम्हालेका दुई नेताबीच हार्दिक सम्बन्ध मात्रै छैन, व्यक्तिगत स्तरमा शिष्ट व्यवहार रहेको छ । यसले झापा–२ लाई “राजनीतिक परिपक्वता”को उदाहरणका रूपमा उभ्याएका छन्।
महिला उम्मेदवारको बलियो उपस्थिति
यस क्षेत्रमा महिला उम्मेदवारको उपस्थिति पनि उल्लेखनीय छ। नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाल कम्युनिस्ट पार्टीबाट धर्मशिला चापागाईं, नेमकिपाबाट चन्द्रकुमारी गारु लगायतका उम्मेदवार मैदानमा छन्। यसले झापा–२ लाई केवल व्यक्तिको प्रतिस्पर्धा होइन, लैंगिक प्रतिनिधित्वको प्रयोगशालासमेत बनाएको छ।
पुराना प्रतिद्वन्द्वी, नयाँ समीकरण
०७९ मा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेका भद्रप्रसाद (स्वागत) नेपाल यसपटक राप्रपाबाट मैदानमा छन्। अघिल्लो निर्वाचनमा २६ हजार ४५५ मत ल्याएर घिमिरेलाई कडा चुनौती दिएका उनले पार्टीको चुनाव चिह्नले मत बढ्ने दाबी गरेका छन्। त्यस्तै, पूर्वसहन्यायाधिवक्ता युवराज संग्रौला लगायत स्वतन्त्र उम्मेदवारहरूले पनि बहसलाई बहुआयामिक बनाएका छन्। जम्मा १८ उम्मेदवार प्रतिस्पर्धामा हुँदा मत विभाजन र रणनीतिक मतदान मुख्य कारक बन्ने देखिन्छ।
भूगोल र मनोविज्ञान
बिर्तामोड नगरपालिका (१–९), कन्काई (८–९), बुद्धशान्ति (१–३) र अर्जुनधारा नगरपालिकाका सबै वडा समेटिएको यो क्षेत्र झापाको व्यापारिक, शहरी र अर्धशहरी मिश्रित भूगोल हो। यहाँको मतदाता विकास, रोजगारी, पूर्वाधार र स्थानीय पहुँचलाई प्राथमिकता दिन्छन्।































प्रतिक्रिया