तनहुँमा मतपत्र आइपुग्यो, कर्मचारी तालिम र मतदाता शिक्षा अभियान सुरु

तनहुँमा मतपत्र आइपुग्यो, कर्मचारी तालिम र मतदाता शिक्षा अभियान सुरु

केन्द्रबिन्दु
15
Shares

दमौली। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ। दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र शनिबार जिल्लामा ल्याइएको हो।

क्षेत्र नं १ का मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं २ का मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित राखिएको छ।

क्षेत्र नं १ मा प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएका छन्। क्षेत्र नं २ मा प्रत्यक्षतर्फ एक लाख ३७ हजार र समानुपातिकतर्फ पनि एक लाख ३७ हजार मतपत्र प्राप्त भएका छन्।

निर्वाचनका लागि आवश्यक अन्य सामग्रीको व्यवस्थापन पनि पूरा भएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त भइसकेका छन् भने तालिम सञ्चालनको तयारी गरिएको छ। क्षेत्र नं १ का कर्मचारीका लागि फागुन ११ गते र क्षेत्र नं २ का कर्मचारीका लागि फागुन १२ गते तालिम सञ्चालन हुनेछ।

तनहुँमा कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन्। तीमध्ये पुरुष एक लाख २३ हजार ४९१ र महिला एक लाख ३० हजार ९०६ जना छन्।

क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ मतदाता छन्, जसमा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार १०४ रहेका छन्। क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता छन्, जसमा पुरुष ६१ हजार ७१३ र महिला ६५ हजार ८०२ रहेका छन्।

क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन्। क्षेत्र नं २ अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका तथा व्यास नगरपालिका वडा नं ५ र ६ पर्दछन्।

मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवक परिचालन

निर्वाचनलाई लक्षित गर्दै बदर मत न्यून गर्ने उद्देश्यसहित जिल्लाका दशवटै पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गरिएको छ।

बन्दीपुर गाउँपालिकाका छ वटै वडामा स्वयंसेवकलाई तालिम दिएर परिचालन गरिएको छ। उनीहरूलाई मतदान प्रक्रिया, मतदाताको अधिकार र कर्तव्य, बदर मत न्यूनीकरणका उपायलगायत विषयमा अभिमुखीकरण गरिएको छ।

स्वयंसेवकले घरदैलोमा पुगेर मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने सही तरिका, प्रत्यक्ष र समानुपातिक प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयताबारे जानकारी गराउनेछन्।

कार्यक्रम विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरेर व्यवहारिक अभ्याससहित सञ्चालन गरिनेछ।

मतदाता शिक्षा प्रभावकारी भएमा मतदान सहज हुने र बदर मत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo