काठमाडौं । फागुन २१ को निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारहरू मतदाता भेट्न व्यस्त छन् । देशभरी चुनावको माहोल बनिरहेका बेला कोशी प्रदेश चर्चाको उचाईमा रहेको छ । कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा ५०४ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जना उम्मेदवार रहेका छन् भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जना उम्मेदवार मैदानमा छन्।
कोशीका २८ वटा निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाह झापा एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका छन् भने अन्य क्षेत्रमा पनि उच्च तहका राजनीतिक नेताहरू चुनावी मैदानमा छन्। यस कारण यो निर्वाचनमा कोशी प्रदेश मुख्य चासोको रूपमा हेरिएको छ ।
२०४८ सालदेखिकै निर्वाचनमा एमालेको मुख्य आधार क्षेत्रका रूपमा रहेको कोशी प्रदेशमा यसपटक जेनजी आन्दोलनपछि रास्वपामा चलेको लहर, वरिष्ठ नेता शाह झापामा चुनाव लड्नु, साथै धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईको उम्मेदवारीले एमालेलाई विरासत जोगाउन चुनौती थपेको छ ।
२०४८ सालमा २०५ निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो । यस निर्वाचनमा ११० सिट जितेर नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो भने ६९ सिट जितेर नेकपा (एमाले) प्रमुख प्रतिपक्ष दल बनेको थियो। हालको कोशी प्रदेश समेटिएका जिल्लाहरूमा २०४८ मा ४१ सिट रहेको थियो, जसमध्ये एमालेले एक्लै २७ सिटमा जित निकालेको थियो भने कांग्रेसले जम्मा १४ स्थान मात्र जितेको थियो। देशभरी कांग्रेस पहिलो पार्टी बने पनि हालको कोशी प्रदेशको नतिजा एमालेको पक्षमा उत्साहपूर्ण रहेको थियो।
२०५१ सालमा भएको आम निर्वाचनमा पनि एमालेले पुरानै लय कायम राखेको देखिन्छ । २०५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८८ सिट जितेर पहिलो पार्टी बनेको थियो । हालको कोशी प्रदेशका ३९ निर्वाचन क्षेत्रमा एमालेले २३ स्थानमा जित निकालेको थियो भने कांग्रेसले १४ स्थान र राप्रपाले २ स्थानमा जितेको थियो ।
०५१ पछि २०५६ सालमा भएको निर्वाचनमा देशभरी कांग्रेसले १११ सिट जित्दा एमाले ७१ सिटमा झरेको थियो । यस निर्वाचनमा एमाले विभाजन भएको थियो । हालको कोशी प्रदेशका ३७ निर्वाचन क्षेत्रमा एमालेले १६ स्थानमा जित निकालेको थियो भने कांग्रेसले २० स्थानमा जितेको थियो ।
२०६४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस, एमालेसँगै माओवादीको उदय भयो । निर्वाचन क्षेत्र निर्धारण अनुसार देशभर कुल २४० निर्वाचन क्षेत्र कायम गरी पहिलो संविधानसभाको निर्वाचन भयो । देशभरी माओवादीले १२० सिट जित्दा कांग्रेस ३७ र एमाले ३३ सिटमा पुगे । ४२ सिट कायम भएको हालको कोशीमा एमालेले ८ सिट मात्र जितेर तेस्रो भएको थियो भने २१ सिट माओवादीले जितेको थियो ।
यस्तै, दोस्रो संविधानसभा निर्वाचन २०७० मा भएको निर्वाचनमा कांग्रेस १०६ सिटसहित पहिलो पार्टी बन्यो । एमाले ९० सिट र माओवादी २६ सिटमा खुम्चियो । ९० सिट जितेर दोस्रो भए पनि हालको कोशीमा एमालेले कुल सिटको आधा हिस्सा ४१ सिटमा जितेको थियो।
संविधान जारी भएपछिको २०७४ सालको निर्वाचन पश्चात प्रदेश नं. १ (हालको कोशी) मा एमाले २०४८ कै झल्को दिनेगरी परिणाम निकाल्न सफल भयो । देशभर १६५ निर्वाचन क्षेत्र कायम रहँदा एमालेले ८०, माओवादी ३६ र कांग्रेस २३ स्थानमा विजयी भएका थिए । यसमा समेटिएका प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा एमाले एक्लै प्रतिनिधिसभामा १६ स्थान र प्रदेशसभामा ३६ सिटमा विजयी हुँदै कोशी प्रदेश आफ्नो गढ रहेको प्रमाणित गरेको थियो।
प्रतिनिधिसभा तर्फ माओवादी ६ र कांग्रेस ५ स्थानमा जित्दा प्रदेशसभामा माओवादी १० र कांग्रेस ८ सिटमा मात्र विजयी भएका थियो । त्यस समयमा माओवादी र एमाले चुनावी तालमेलमा थिए ।
पछि २०७९ सालको निर्वाचनमा देशभर कांग्रेस, माओवादी र एमाले विभाजित भए । नेकपा (एस)ले चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको थियो । अनुमान गरिएको थियो कि एमाले धेरै स्थानमा पराजित हुनेछ र सानो संख्यामा संसदमा रहनेछ । तर प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये कांग्रेसले ५७ स्थानमा जित्दा एमालेले ४५ स्थानमा जितेको थियो । प्रत्यक्षमा दोश्रो भए पनि समानुपातिकमा एमालेले पहिलो मत प्राप्त गरेको थियो । यस निर्वाचनमा पनि एमाले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा १३ स्थान र प्रदेशसभाका २५ सिटमा जित निकाल्दै कोशी प्रदेशमा आफ्नो वर्चस्व कायम राखेको थियो ।
विगतमा भएका गठबन्धन सहितका चुनावभन्दा कोशी प्रदेशमा यसपटकको चुनावी अंक गणित फरक किसिमको रहेको छ । आफ्नो आधार क्षेत्र मानिएको क्षेत्रमा एमालेको केही आन्तरिक विवाद र उम्मेदवार छनोटका विषयलाई लिएर केही स्थानमा विवाद उत्पन्न भएको छ भने केही क्षेत्रमा कमजोर उम्मेदवार हुनु र रास्वपा तथा हर्क साम्पाङको उदयले एमालेको समानुपातिक र प्रत्यक्ष दुवै क्षेत्रमा असर पर्ने देखिन्छ ।
भावी प्रधानमन्त्रीको रूपमा रास्वपाले अघि सारेका बालेन शाह झापा ५ मा चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनी आफ्नो उम्मेदवारी क्षेत्रसहित कोशी प्रदेशका सबै क्षेत्रका चुनावी अभियानमा लागेका छन् भने एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रबाहेक कुनै पनि उम्मेदवारको चुनावी अभियानमा हालसम्म गएका छैनन् ।
ताप्लेजुङ, सोलुखुम्बु, मोरङ, सुनसरी लगायतका क्षेत्रमा अघिल्लो निर्वाचनमा जितेका वरिष्ठ नेताहरुलाई टिकट नदिएर प्रतिशोध साँधिएको आरोप एमालेभित्रैबाट चलिरहेको छ । एमाले उपमहासचिव योगेश भट्टराईले दुईपटक चुनाव जितेको ताप्लेजुङ क्षेत्रमा युवा संघका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ । ओखलढुङ्गामा पार्टीका वरिष्ठ नेताहरुलाई टिकट नदिएर मेलुङ गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई टिकट दिइएको छ । यसपछि सिङ्गो एमाले जिल्ला कमिटी नेकपामा प्रवेश गरेको छ ।
सोलुमा अघिल्लोपटक चुनाव जितेका मानविर राई र अन्य वरिष्ठ नेताहरुलाई टिकट नदिएर जिल्ला सचिव कल्पना राईलाई उम्मेदवार बनाएको छ । नेकपा र कांग्रेसले चुनाव जित्न सहज हुने अनुमान गरेका छन् । मोरङ ३ मा दुई पटक चुनाव लडेका पार्टी सचिव भानुधक्त ढकाल सुरक्षित क्षेत्र खोज्दै तेह्रथुम पुगेका छन्। लिम्बु समुदायको बाहुल्य क्षेत्र रहेको यस स्थानमा सहज जितका लागि पुगेका ढकाललाई एमालले किन क्षेत्र परिवर्तन गरेको जवाफ दिन सकेको छैन ।
सुनसरी १ मा हर्क साम्पाङको क्षेत्रमा दुई पटक उम्मेदवार परिवर्तन गरेर टिका लिम्बुलाई उम्मेदवार बनाएकोमा पार्टीभित्रै असन्तुष्टि मत्थर हुन सकेको छैन। अघिल्लो निर्वाचनमा जितेका वशनत नेम्वाङ स्वास्थ अवस्थाका कारण चुनावी क्षेत्रमा पुग्न नसक्दा एमालेले सुरक्षित ठानिएको पाँचथरमा पनि चुनावको रौनक आउन सकेको छैन ।
झापा १ मा पनि एमालेको जित आफ्नै कार्यकर्ताले समेत देख्न छाडेका छन् भने क्षेत्र नं. ३ मा लगातार दुई चुनाव राप्रपाका राजेन्द्र लिङ्देनलाई सघाएको एमालेले चुनाव जित्ने आधार पहिले नै कायम गर्न सकेको देखिँदैन । झापा ४ मा माघ ४ गते मनोनयनको अन्तिम समयमा मनोज ताम्लीको टिकट परिवर्तन भएको थियो। टिकट खोसिएका ताम्ली उम्मेदवार एलपी साँवासँगै चुनावी अभियानमा लागेका छन् । यो क्षेत्र एमालेले सुरक्षित क्षेत्रका रूपमा हेरेको छ।
विकासको कुनै कसर बाँकी नराखिएको एमालेले दावी गरेको झापा २ र ५ मा रास्वपा चुनौती बनेको देखिन्छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले चुनाव हराएको निवर्तमान सभामुख देवराज घिमिरेलाई उनको कार्यकालकी उपसभामुख ईन्दिरा रानाले चुनौती दिइरहेकी छन्।
धनकुटा र भोजपुरलाई एमालेले जित्ने आंकलन गरेको निर्वाचन क्षेत्रका रूपमा हेरेको छ । लगातार चुनाव जित्दै आएका धनकुटामा राजेन्द्र राई तेस्रो पटक चुनावी मैदानमा छन् भने भोजपुरमा एमाले सचिव समेत रहेका पूर्वमुख्यमन्त्री शेरधन राई उम्मेदवार बनेका छन् । भोजपुरमा हर्क साङपाङको पार्टी माटोका उम्मेदवार ध्रुवराज राई उम्मेदवार छन्। उनलाई निवर्तमान सांसद सुदन किरातीको समेत साथ रहेको छ । उनी २०७९ को स्थानीय तहमा एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्ष हुन् । उनले ठूला पार्टीलाई चुनौती दिन सक्ने आंकलन गरिएको छ ।
श्रम संस्कृति पार्टीबाट कोशीका १४ जिल्लामा विभिन्न अन्य दल छाडेर आएका उम्मेदवारहरू छन्। हर्कको पार्टीले कोशीका जिल्लाहरूमा जित्ने सम्भावना कम भए पनि ठूला पार्टीहरूको मत काट्ने अवस्था छ । यसले विगतमा जितेका सांसदहरू र पार्टीका उम्मेदवारहरूमा चुनावी परिणामले असर पर्ने देखिन्छ । यसबाट सबैभन्दा धेरै असर एमालेलाई पर्ने देखिन्छ ।
रास्वपाले यसपटक कोशीमा संखुवासभा, ओखलढुङगा, सुनसरी १, झापा १, २, र ५ आफूहरुले जित्ने सूचीको अग्रस्थानमा राखेको छ भने जित्ने आंकलनमा मोरङ र सुनसरीका ३ क्षेत्रलाई सूचीमा राखेको छ ।
कोशीका २८ सिटमा १० सिट जित्ने आंकलन कांग्रेसको रहेको छ । सुनसरीमा २ वटा क्षेत्र, मोरङ मा २ वटा, ताप्लेजुङ, पाँचथर, ईलामको १ क्षेत्र झापा १ र ३ ओखलढुंगा, तेह्रथुम जित्ने कांग्रेसको दाविरहेको छ । नेकपाले भने सोलु, उदयपुर, मोरङ ४ पाँचथरमा आफूहरु जित्ने दाबी रहेको छ । यसरी हेर्दा एमाले अघिल्लो चुनावभन्दा आधा क्षेत्र अर्थात् ८ स्थानमा जित्ने देखिए पनि १४ स्थानहरु ताप्लेजुङ, पाँचथर, ईलाम, झापाका २,४ र ५ क्षेत्र, मोरङ १, र ४ सुनसरीका २ क्षेत्र, धनकुटा, भोजपुर, ओखलढुङगा र उदयपुरको १ क्षेत्र जितको पहिलो लिष्टमा राखेको छ ।































प्रतिक्रिया