पर्साका दुई मतदानस्थलको अनुगमन बाँकी

पर्साका दुई मतदानस्थलको अनुगमन बाँकी

केन्द्रबिन्दु
9
Shares

वीरगन्ज। जिल्ला सुरक्षा समितिले पर्साका १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ । जिल्लामा कुल १६७ मतदानस्थल रहेकामा अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको टोलीले संयुक्त रूपमा मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अनुगमनका क्रममा आवश्यक शान्ति–सुरक्षा रणनीति तयार पारिएको छ ।

“हालसम्म १६५ मतदानस्थलको अनुगमन र निरीक्षण गरिसकेका छौँ,” उनले भने, “बाँकी दुई मतदानस्थलको पनि छिट्टै अनुगमन हुनेछ ।” उनले भयरहित र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

जिल्ला सुरक्षा समितिका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये ६२ लाई अतिसंवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ ।

क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल रहेका छन् । जिल्लामा कुल ४४१ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्र तोकिएका छन् ।

चारवटा निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ मा समान ११४–११४ मतदान केन्द्र रहेका छन् । जिल्लाको कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छ । तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।

Logo