मोरङका गाउँगाउँमा मतदाता शिक्षाले स्थानियमा उत्साह

मोरङका गाउँगाउँमा मतदाता शिक्षाले स्थानियमा उत्साह

केन्द्रबिन्दु
15
Shares

बेलबारी। प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मोरङका गाउँगाउँमा चुनावी वातावरण सक्रिय बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षासँगै मतदातामा उत्साह बढ्दै गएको छ ।

जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालनसम्बन्धी प्रशिक्षण दिइँदै रहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दङ्गालले जानकारी दिएका छन् ।

निर्वाचनका आवश्यक सामग्रीसहित मतपत्र छवटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दङ्गालले बताएका छन् । जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील वर्गीकरण गरेका मतदान केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको र आवश्यक कर्मचारी व्यवस्थापन गरिएको उनले उल्लेख गरेका छन् ।

बेलबारी–१० भाउन्नेकी ८० वर्षीया शुक्रमाया राईले विगतमा पनि मतदान गर्दै आएकी भए पनि यसपटक दिइएको मतदाता शिक्षाले मतदान प्रक्रिया अझ सहज बनाएको बताएकी छन् । बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्न लागेका छन् । उनले मतदाता शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा विश्वस्त रहेको बताएका छन् । रङ्गेली नगरपालिका–२ का कैलाश ऋषिदेवले पनि पहिलो पटक मतदान गर्न लागेको र मतदाता शिक्षा कार्यक्रमबाट लाभान्वित भएको जानकारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार मोरङमा कुल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा सात लाख ३५ हजार ५३५ मतदाता रहेका थिए ।

Logo