बिर्तामोड । पूर्वसभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । बिर्तामोडमा आयोजित एक कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनी टिप्पणी गरेपछि घिमिरेले त्यसको खण्डन गरेका हुन् ।
पूर्वसभामुख घिमिरेले संसदमा माइक काटिने विषय सभामुखको व्यक्तिगत इच्छा नभई संसदीय नियमावली र पूर्वनिर्धारित समय अनुसार हुने स्पष्ट पारेका छन् । “संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन। उहाँ आफैं संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो,” घिमिरेले भनेका छन्, “संसदमा सबै वक्तालाई समान अवसर दिन समय निर्धारण गरिन्छ। समय सकिएपछि माइक काटिने प्रक्रिया स्वाभाविक हो।”
घिमिरेले लामिछानेलाई संसदको वेबसाइटमा गएर रेकर्डहरू हेर्न चुनौती समेत दिएका छन् । उनका अनुसार उपसभामुख वा सभाको अध्यक्षता गर्ने अन्य सदस्यहरू भएका बेला पनि समय सकिएपछि माइक काटिने गरेको र त्यो नियमसंगत नै हुने गरेको छ।
लामिछानेले फैलाएको ‘घृणाको राजनीति’ प्रति खेद व्यक्त गर्दै घिमिरेले उनको नैतिकतामाथि समेत प्रश्न उठाएका छन् । उनले भनेका छन्- ‘ “आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?” तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’





























प्रतिक्रिया