जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटिने

जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटिने

केन्द्रबिन्दु
0
Shares

जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटिने भएका छन्। जिल्ला सदरमुकाम खलङ्गा स्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला हुन्।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार महिला कर्मचारीहरूले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्दै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित मतदान सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री सङ्कलन र सम्प्रेषण गर्न आग्रह गरे।

जिल्लामा कूल ७१ हजार ७३९ मतदाता छन् र निर्वाचनमा ६५४ जना कर्मचारी खटिनेछन्। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहनेछन्। जुम्लामा ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएको छ।

निर्वाचन लक्षित गरी जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र जिल्लामा पुगेको छ। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी खटिनेछन्।

जिल्लामा ९२५ अस्थायी मतदाता नामावली सङ्कलन गरिएको छ भने दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। निर्वाचन आउन आठ दिन बाँकी रहँदा, जिल्ला निर्वाचन कार्यालयले महिला कर्मचारी तालिम फागुन १५ बाट सुरु हुने जानकारी दिएको छ।

Logo