रास्वपा उम्मेदवार नीतिमा कार्कीविरुद्ध फैलाइएको भ्रमपूर्ण सूचनाप्रति प्रेस काउन्सिलको एक्सन

रास्वपा उम्मेदवार नीतिमा कार्कीविरुद्ध फैलाइएको भ्रमपूर्ण सूचनाप्रति प्रेस काउन्सिलको एक्सन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही क्षेत्र नं. १ की उम्मेदवार नीतिमा भण्डारी कार्कीविरुद्ध फैलाइएको भ्रमपूर्ण सूचनाप्रति प्रेस काउन्सिल नेपालले अनलाइन टिभी नेपाललाई पत्रकार आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र खण्डन प्रसारण गर्न र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

उक्त अनलाइनले आफ्नो फेसबुक रिलमार्फत कार्कीलाई “३३ किलो सुन तस्करी काण्ड” मा मुछिएको र राजनीतिक व्यक्ति रवि लामिछानेसँग जोडेर भ्रमपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै काउन्सिलले उक्त कदम चालेको हो।

काउन्सिलमा परेको उजुरी र स्व-अनुगमनका अनुसार, फागुन १४ गते उक्त मिडियाले कार्कीको चरित्र हत्या गर्ने र उनको प्रतिष्ठामा आँच पुर्‍याउने गरी आधारहीन सामग्री पोस्ट गरेको पाइएको छ। विशेष गरी आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा कुनै पनि उम्मेदवार वा व्यक्तिलाई लक्षित गरी भ्रामक सामग्री फैलाउनु निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ को गम्भीर उल्लंघन भएको काउन्सिलले ठहर गरेको छ।

प्रेस काउन्सिल नेपालका शाखा अधिकृत सुवास राईद्वारा जारी उक्त पत्रमा, निर्देशन पालना नभएमा कानुन बमोजिम थप कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।

Logo