रुपन्देहीमा प्रतिनिधिसभा निर्वाचन तयारी पूराः मतदान सुरक्षित, शान्तिपूर्ण र प्रभावकारी बनाउने व्यवस्थामा जोड

रुपन्देहीमा प्रतिनिधिसभा निर्वाचन तयारी पूराः मतदान सुरक्षित, शान्तिपूर्ण र प्रभावकारी बनाउने व्यवस्थामा जोड

केन्द्रबिन्दु
39
Shares

लुम्बिनी। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूर्ण भएको छ। जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन्।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार निर्वाचनमा खटिने कर्मचारीले नियुक्तिपत्र प्राप्त भइसकेका छन् र आजबाट निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुग्ने व्यवस्था मिलाइएको छ। “सामान्य छिटफुट कामबाहेक निर्वाचनका सबै तयारी पूरा भएका छन्। सुरक्षा, मतदान केन्द्र व्यवस्थापन र सामग्री वितरण सबै तयारी अवस्थामा छन्,” उनले बताए।

सामाजिक र राजनीतिक गतिविधिः
राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम अन्तिम चरणमा पुर्याएका छन्। निर्वाचनको मतदानभन्दा तीन दिनअघि फागुन १८ गते राति १२ः०० बजेदेखि मौन अवधि लागू हुने भएकाले उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर अन्तिम भेटघाट र एजेन्डा प्रस्तुत गर्दैछन्। हालसम्म निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। प्रशासनले आचारसंहिता पालनामा जिल्लाका प्रायः सबै निर्वाचन क्षेत्रमा ७० प्रतिशत कायम रहेको जनाएको छ।

तीन तहको सुरक्षा व्यवस्थाः
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित हुनेछन्। पाँचवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा सुरक्षा सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

मतदाता विवरणः
रुपन्देहीमा कुल छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्, जसमा तीन लाख ४६ हजार २०३ पुरुष र तीन लाख २६ हजार ३११ महिला मतदाता छन्। प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन्। यस्तो छ क्षेत्रगत मतदाता सङ्ख्या :

क्षेत्र नं १ः १,४६,८२४

क्षेत्र नं २ः १,३५,०५०

क्षेत्र नं ३ः १,४०,०३५

क्षेत्र नं ४ः १,१६,१७२

क्षेत्र नं ५ः १,३४,४४२

जिल्लामा २०९ मतदानस्थल र ७३२ मतदान केन्द्र स्थापना गरिएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाता मतदान गर्न पाउनेछन्।

सीमा र सवारी व्यवस्थाः
निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमामा तीन दिन बन्द रहनेछ। फागुन १८ गते राति १२ः०० देखि २१ गते राति १२ः०० सम्म सम्पूर्ण सीमा बन्द हुनेछ। यसैगरी, फागुन २० गते राति १२ः०० देखि २१ गते मतदान कार्य सम्पन्न नभएसम्म आवश्यक अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइने छ।

होली पर्व व्यवस्थाः
प्रशासनले होली÷फागु पर्वलाई मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गरेको छ। निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै होली पर्व घरमै बसेर मनाउन, सार्वजनिक साङ्गीतिक कार्यक्रम नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गरिएको छ।

मानवशक्ति परिचालनः
जिल्लाका पाँच निर्वाचन क्षेत्रमा चार हजार ३९२ स्थायी र चार अस्थायी मतदान केन्द्रमा कर्मचारी खटाइसकिएका छन्। प्रमुख निर्वाचन अधिकृतका अनुसार चार हजार ४१६ कर्मचारी र झन्डै १,६०० स्वयंसेवक गरी छ हजार बढी जनशक्ति परिचालित गरिएको छ।

मतदाता शिक्षाः
मतदाताको सहभागिता बढाउन निर्वाचन कार्यालयले घरदैलो अभियान सञ्चालन गरेको छ। कर्मचारीहरूले नमूना मतपत्र लिएर वृद्धवृद्धा तथा शिक्षाको पहुँच कम भएका मतदातालाई मतदान प्रक्रिया सिकाइरहेका छन्।

उम्मेदवार स्थितिः
रुपन्देहीमा राजनीतिक दलका ६३ र स्वतन्त्र उम्मेदवार ९२ गरी जम्मा १५५ उम्मेदवार चुनावी मैदानमा छन्।

मुख्य निर्वाचन अधिकृत बस्नेतले भने, “निर्वाचन सुरक्षित, शान्तिपूर्ण र प्रभावकारी हुन सबै तयारी पूरा भइसकेको छ। मतदाता शिक्षाबाट मतदानको प्रतिशत बढाउने प्रयास भइरहेको छ। प्रशासन र सुरक्षा निकायहरू पूर्ण सक्रिय छन्।”

Logo