बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञामनाथ गैरेले मध्यपूर्वमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ बसोबास गरिरहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले इजरायल, इरान, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), बहराइनलगायतका देशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति आफू संवेदनशील रहेको उल्लेख गरेका छन् । हालको अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै उनले व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
गैरेले सम्बन्धित देशका सरकारी निकाय र नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन् । अवस्था सामान्य नभएसम्म ती क्षेत्रतर्फ यात्रा गर्ने योजना स्थगित गर्न पनि उनले सुझाव दिएका छन् ।
त्यस्तै, निषेधित वा संवेदनशील क्षेत्रका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने कार्य नगर्न उनले सचेत गराएका छन् । यस्तो गतिविधिले कानुनी समस्या निम्त्याउन सक्ने उनको भनाइ छ । स्थानीय नेपाली समुदाय, संघ–संस्था तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहन उनले आग्रह गरेका छन् ।
गैरेले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई पनि मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक परे तत्काल उद्धार र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच राजनीतिक नेतृत्वबाट आएको यो अपिलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षाप्रति चासो र संवेदनशीलता देखाएको छ ।






























प्रतिक्रिया