निर्वाचनअघि रुपन्देहीका सीमानाकामा कडाइ

निर्वाचनअघि रुपन्देहीका सीमानाकामा कडाइ

केन्द्रबिन्दु
9
Shares

लुम्बिनी। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक समन्वय बैठकसमेत भएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका अधिकारीसँग छलफल गरी सीमा क्षेत्रको अनुगमन र सुरक्षा कडाइ गरिएको जानकारी दिए। छलफलमा नेपालतर्फबाट प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारी तथा भारततर्फबाट जिल्ला प्रशासन र प्रहरी प्रमुख सहभागी थिए।

निर्वाचन अवधिभर सीमानाका बन्द गर्ने र प्रभावकारी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ। फागुन १८ गते राति १२ बजेदेखि ७२ घण्टाका लागि रुपन्देहीका सबै सीमानाका बन्द गरिएका छन्। मतदान सम्पन्न नभएसम्म आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

मुख्य नाका बेलहिया र लुम्बिनी–कक्रहवालगायत अन्य साना नाकामा समेत आवागमन रोकिएपछि सीमा क्षेत्र सुनसान बनेको छ। ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारी, एम्बुलेन्स र तेस्रो मुलुकका पर्यटकबाहेक अन्य ढुवानी र आवागमनमा रोक लगाइएको छ।

यसैबीच मतगणनास्थलको सुरक्षा कडा बनाइएको छ। रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रका मतगणना स्थललाई १० फिट अग्लो तारजालीले घेरिएको छ। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो।

मतगणना स्थलमा सिसीटिभी क्यामेरा जडान गरिएको छ भने विद्युत् आपूर्ति सहज बनाउन चार्ज हुने बत्तीको व्यवस्था गरिएको छ। मतगणनाका क्रममा कर्मचारी र सुरक्षाकर्मीबाहेक अन्यलाई तारजालीभित्र प्रवेश नदिइने र उम्मेदवारका प्रतिनिधिलाई बाहिरबाट अवलोकन गर्न दिइने व्यवस्था गरिएको छ।

Skip This
Skip This
Logo