काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई आफ्नो जीवनको अविस्मरणीय र संयोगले भरिएको दिनका रूपमा स्मरण गरेका छन् ।
मतदानपछि सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आजको दिनलाई ‘मृत्युको मुखबाट पुनर्जीवन पाएको’ दुई महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका हुन् । उनले वि.सं. २०२९ फागुन २१ गते सुखानीको जंगलमा भएको हत्याकाण्डलाई स्मरण गर्दै झापा आन्दोलनका अमर योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
निरंकुश पञ्चायती व्यवस्थाले जेल सार्ने बहानामा उनीहरूलाई हत्या गरेको उल्लेख गर्दै ओलीले भनेका छन्, “त्यही क्रममा हामीलाई पनि जेल हालिएको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि म मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ।”
अर्काे आजकै दिन ६ वर्षअघि (२०७६ फागुन २१ गते) अध्यक्ष ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्रिवि शिक्षण अस्पतालमा भएको उक्त सफल प्रत्यारोपणलाई उनले आफ्नो जीवनको दोस्रो पुनर्जीवनका रूपमा लिएका छन् । उनले भनेका छन्, “आज सुखानी शहीद दिवस हो भने आजकै दिन मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।”
अध्यक्ष ओलीले झापा आन्दोलनले नै देशमा निरंकुशता विरुद्ध विद्रोहको बिगुल फुकेको र शहीदहरूको त्यही बलिदानले आज देश लोकतन्त्रको उज्यालो बिहानीमा आइपुगेको चर्चा गरेका छन् ।





























प्रतिक्रिया