काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल भारी मतान्तरले विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार अर्यालले ३५,०९३ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई निकै पछाडि पारेका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले मात्र ५,४६० मत प्राप्त गरेकी छन्।
विजयी अर्याल र बास्तोलाबीचको मतान्तर २९,६३३ रहेको छ, जसलाई यस क्षेत्रकै एक ऐतिहासिक जितका रूपमा हेरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
५१ वर्षीय अर्याल रास्वपाका उपसभापति समेत हुन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सूचीमार्फत संघीय सांसद बनेका थिए। त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै वैदेशिक रोजगार, श्रमिक अधिकार र सामाजिक सुरक्षासम्बन्धी क्षेत्रमा काम गरेका छन्।





























प्रतिक्रिया