रुपन्देही २ मा एमालेका विष्णु पौडेललाई हराउने रास्वपाका सुलभ खरेल को हुन् ?

रुपन्देही २ मा एमालेका विष्णु पौडेललाई हराउने रास्वपाका सुलभ खरेल को हुन् ?

केन्द्रबिन्दु
12
Shares

रुपन्देही। रुपन्देही क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका छन् । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाएका छन् । तेस्रोमा रहेका नेपाली काँग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाएका छन् ।

पार्टी स्थापनादेखि नै रास्वपा सभापति रवि लामिछानेसँग निकट रहेका खरेल अधिवक्ता हुन्। रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जस्ता विषयमा कानुनी परामर्शमा सक्रिय भए ।

खरेलले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बीए–एलएलबी गरेका थिए। नेपाल ल क्याम्पसमा पढ्दा उनी दुई वर्ष जति नेकपा एमाले निकट अनेरास्ववियूमा आबद्ध थिए। बीए-एलएलबीपछि चार वर्ष वकालत गरेका खरेलले अमेरिकाको मिसिगन ल स्कुलबाट पूर्ण छात्रवृत्तिमा कानुनमा स्नातकोत्तर (एलएलएम) पढ्ने अवसर पाए।मिसिगन ल स्कुलबाट एलएलएम गरेपछि खरेल नेपाल फर्किएर वकालत पेसामै आबद्ध भए।

उनले केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनविरुद्ध सबभन्दा कान्छा रिट निवेदकका रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गरेका थिए। संवैधानिक तथा फौजदारी कानुनमा रूचि राख्ने खरेलले विराटनगरमा थुनिएका लालबहादुर विकको रिहाइमा समेत बहस गरेका थिए।

राष्ट्रपतिबाट जनसेवाश्री पदकबाट विभूषित भइसकेका खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए।

Logo