मोरङ। मोरङ निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रूविना आचार्य भारी मतान्तरसहित विजयी भएकी छन्।
निर्वाचन कार्यालयका अनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरे। यससँगै आचार्यले कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गरिन्।
लामो समयदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको मोरङ–६ मा यसपटक मतदाताले नयाँ विकल्प रोजेका छन्। चुनावी अभियानका क्रममा आचार्यलाई ‘बाहिरबाट आएको उम्मेदवार’ भनेर आलोचना गरिएको थियो। तर मतदाताले उनलाई नै आफ्नो प्रतिनिधि बनाएका छन्।
विराटनगर–४ मा जन्मिएकी आचार्यले प्रारम्भिक शिक्षा विराटनगरमै पूरा गरेकी हुन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतबाट बीबीए र काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट एमबीए अध्ययन गरेकी छन्।
राजनीतिक रूपमा उनी सुरुमा विवेकशील साझा पार्टीसँग जोडिएकी थिइन्। सो पार्टीको युवा संगठनमा काम गरेपछि उनी केन्द्रीय सदस्य पनि बनेकी थिइन्। पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि रास्वपाबाट मोरङ–६ मा उम्मेदवार बनेकी हुन्।
आचार्य विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहँदै आएकी छन्। उनी डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’ तथा महिला हिंसा विरुद्धका कार्यक्रममा संलग्न थिइन्।
विजयी भएपछि उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समानताका मुद्दा संसदमा उठाउने बताएकी छन्। साथै क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।





























प्रतिक्रिया