विजयी भएका मनिष झाको नयाँ शैली- पराजितसँग भेट्ने र परामर्श लिने

विजयी भएका मनिष झाको नयाँ शैली- पराजितसँग भेट्ने र परामर्श लिने

केन्द्रबिन्दु
15
Shares

जनकपुर । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएकी एमालेकी उम्मेदवार जुली महतोसँग भेटघाट गरेका छन् ।

आइतबार दिउँसो झाले महतोलाई जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् । झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसँग आग्रह गरेका छन् ।

धनुषा र धनुषावासीलाई आफूभन्दा बढी जुलीले चिनेको भन्दै झाले धनुषामा गर्नुपर्ने कामहरुका बारेमा जुलीसँग छोटो छलफल गरेका छन् । सो क्रममा पराजित उम्मेदवार एवं नेकपा एमालेकी नेतृ महतोले झालाई बधाई तथा शुभकामना दिएकी थिइन् । साथै उनले धनुषामा गर्नुपर्ने कार्यहरुको बारेमा झालाई जानकारी गराएकी थिइन् ।

उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन् ।

एमालेको सरकार भएको समयमा उनले अधिकांश कार्य योजनाहरु अगाडि बढाइसकेको र थोरै कामहरु गर्न मात्र बाँकी रहेकाले ती कार्यहरुलाई अगाडि बढाउन झालाई महतोले सल्लाह दिएकी थिइन् ।

नवनिर्वाचित झाले यसअघि नेपाली कांग्रेसबाट पराजित भएका धनुषाका बिमलेन्द्र नीधिलाई पनि भेटेका थिए ।

Logo