सिन्धुपाल्चोक। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरतप्रसाद पराजुली विजयी भएका छन् भने क्षेत्र नं. २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्।
क्षेत्र नं. १ मा पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका मुख्य प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत पाए। निजी क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका पराजुली ऊर्जा क्षेत्रसँग जोडिएका उद्यमीका रूपमा चिनिन्छन्। जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका उनी विकास, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका थिए।
यसअघि २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका थिए। त्यतिबेला एमालेका सरेश नेपाल दोस्रो र रास्वपाका दिनेश श्रेष्ठ तेस्रो स्थानमा रहेका थिए। यसपटक भने नयाँ अनुहारका रूपमा उत्रिएका पराजुलीले मतदाताको समर्थन पाउँदै संसदीय यात्रामा प्रवेश गरेका छन्।
यता क्षेत्र नं. २ मा भने अनुभवी राजनीतिक व्यक्तित्व युवराज दुलाल विजयी भएका छन्। उनले २१ हजार ६९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १४६ मत पाए।
दुलाल यसअघि दुई कार्यकाल बागमती प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएका थिए। प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ।
यसपटकको परिणामले सिन्धुपाल्चोकमा एकातिर नयाँ अनुहारलाई अवसर दिने मतदाताको प्रवृत्ति देखाएको छ भने अर्कोतर्फ अनुभवी नेतृत्वप्रतिको विश्वास पनि कायम रहेको संकेत गरेको छ।































प्रतिक्रिया