सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने डोल्मा गोलेको घोषणा

सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने डोल्मा गोलेको घोषणा

केन्द्रबिन्दु
24
Shares

ललितपुर। अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने निर्णय सार्वजनिक गरेकी छन्।

गोलेले सार्वजनिक सन्देशमार्फत अबदेखि आफूले पाउने मासिक तलब–भत्ता नलिने बताएकी छन्। उक्त रकम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविकालगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगका रूपमा खर्च गरिने जनाइएको छ।

यसैगरी उनले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन पनि सामाजिक सेवामा प्रयोग गर्ने योजना अघि सारेकी छन्। परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउन–जान सहज बनाउन सवारी उपलब्ध गराइने उल्लेख गरिएको छ।

विशेषगरी मासिक वृद्धभत्ता लिन पालिका केन्द्रस्थित बैंकसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई सवारी प्रयोग गर्दा सहज हुने उनको भनाइ छ। समस्या परेमा खुला रूपमा जानकारी दिन आग्रह गरिएको छ।

महाङ्काल गाउँपालिका महिला तथा बालबालिका शाखाले वडाअध्यक्ष, जनप्रतिनिधि, सचिव तथा स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरेर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने जनाइएको छ। यो सेवा गाउँपालिकाभित्रका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिनेछ।

गोलेले आफ्नो निर्णय जनसेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा लिएको उल्लेख गरेकी छन्।

Logo