एमालेको बेहालपछि योगेश भट्टराई भन्छन्- कमरेडहरू हामी ढलेका मात्र हौं, मरेका होइनौं

एमालेको बेहालपछि योगेश भट्टराई भन्छन्- कमरेडहरू हामी ढलेका मात्र हौं, मरेका होइनौं

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामलाई जनताले पार्टीको नीति र नेतृत्वप्रति गरेको शान्तिपूर्ण ‘अस्वीकृति’ को रूपमा टिप्पणी गरेका छन् । निर्वाचनपछि पार्टीभित्र र बाहिरबाट आएका विभिन्न प्रतिक्रियाहरूलाई समेट्दै उनले सामाजिक सञ्जालमार्फत सात बुँदे धारणा सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, “कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ।”

जनताले मतमार्फत एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरेको यथार्थलाई स्वीकार्दै भट्टराईले अब पार्टीभित्र ‘सर्वांगीण रूपान्तरण’ आवश्यक रहेको औंल्याएका छन् । २०७८ भदौ २३ र २४ पछि पार्टीले लिएका कतिपय नीतिहरू गलत भएको र त्यसलाई सच्याउन गरिएका प्रयासहरू सफल नभएको उनको दाबी छ। उनले अब पार्टीभित्र खुला बहस र छलफलको ढोका खोल्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी यो अवस्थामा पुग्नुमा नीति मात्र नभई नेतृत्व तहको पनि उत्तिकै भूमिका रहने उनको तर्क छ। “जस अपजसको भारी केन्द्रीय कमिटी र सचिवालयले बोक्नुपर्छ, र यसको मुख्य जवाफदेहिता प्रमुख नेताकै रहन्छ,” भट्टराईले भनेका छन् ।

भट्टराईका ७ बुँदे धारणा-

१. निर्वाचनमा आफ़नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वांगीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ ।

२. मुलत: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ ।

३. हरेक सार्वजनिक संस्था/ संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहंन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नुपर्दछ ।

४. पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट ( समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । सथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।

५. कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं । सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फ़त हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौं । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।

६ . राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरु पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

७ . अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।

Skip This
Skip This
Logo