नयाँ सरकारको अध्याय : रास्वपा र नेकपाको सहकार्य कति सम्भव ?

नयाँ सरकारको अध्याय : रास्वपा र नेकपाको सहकार्य कति सम्भव ?

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो भ्रंश र पुनर्संरचना ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लामो समयदेखि सत्तामा रहने पुराना दल नेपाली कांग्रेस, एमाले र नेकपा लाई पछाडि पार्दै अभूतपूर्व जनमत प्राप्त गरेको छ।

रास्वपा अहिले दुई तिहाइ नजिक पुगेको छ । कांग्रेस, एमाले र नेकपा जस्ता दललाई रक्षात्मक अवस्थामा राख्न सक्ने हैसियत रास्वपामा रहेको छ । पुराना दलहरूको “सत्ता र शक्तिको राजनीति” अब रास्वपाको विजयी गणित अगाडि चुनौतीपूर्ण बनेको छ ।

तर सत्ता गणितमा रास्वपा एकल बहुमत पाए पनि संवैधानिक र राष्ट्रियसभा गणितले गर्दा सरकार चलाउनका लागि नयाँ समझदारी आवश्यक छ । राष्ट्रपति रामचन्द्र पौडेल (कांग्रेस)को उपस्थिति, राष्ट्रियसभा र संवैधानिक परिषद्का सदस्यहरूको गणितले रास्वपाको निर्णय प्रक्रियामा नेकपासँग सहकार्य अनिवार्य बनाएको छ ।

अघिल्लो चुनावलगत्तै प्रचण्डकै नेतृत्वमा बनेको सरकारमा रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका थिए । दुईबीच सत्ता सहकार्यको अनुभव पनि छ । उसो त काँग्रेस एमालेले पटक पटक रास्वपालाई खेदेपनि प्रचण्डले रवि,बालेन, हर्क लगायतका नयाँ वैकल्पिक शक्तिहरुलाई लोकतन्त्रका फक्रिदा फूल भन्दै समर्थन गर्दै समेत आएका थिए।

प्रचण्ड र रास्वपा विचमा कुनै तिक्तता छैन। रवि पटक पटक जेल फेर्दै बन्दी बनेर जेल जीवन विताउँदा पनि प्रचण्डले रविमाथि कांग्रेस एमालेले अन्याय गरेको बताउँदै रक्षात्मक अभिव्यक्ति समेत दिएका थिए । परिवर्तनका पक्षमा एक हुन र देशमा सुशासन कायम गराउन विगतमा प्रचण्डको नेतृत्वमा रास्वपासहितको सरकारले प्रभावकारी काम गरेको भाष्यले समेत उनीहरूलाई यसपटक जोड्न सक्ने सम्भावना रहेको छ ।

जनयुद्ध जनआन्दोलन पछि अझैसम्म पूर्ण रूपमा नसकिएको शान्ति प्रक्रिया पुरा गर्न पनि रास्वपा र नेकपाको सहकार्य जरुर जस्तै भएको नेकपाका एक नेता बताउँछन् । प्रत्यक्ष कार्यकारी,सुशासन कायम,भ्रष्टाचार अन्त्य,रोजगारी सिर्जना लगायतका विविध मुद्दा समेत रास्वपा र नेकपाका मिल्दाजुल्दा हुनुले रास्वपा नेकपाको सत्ता सहकार्य निकटमा रहेको रास्वपाका एक नेता बताउँछन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले पनि यस अवसरलाई राजनीतिक परिपक्वताका रूपमा उपयोग गर्दै अगाडि बढ्नका लागि रास्वपालाई सन्देश दिएका छन्। रुकुमपूर्वबाट विजयी भएसंगै प्रचण्डले भनेका थिए,“नयाँ पार्टीले ठूलो विजय हासिल गरेको छ, त्यसैले विनम्रता कायम गर्नु आवश्यक छ, यदि अहंकारले काम गर्छ भने त्यो देशका लागि दुर्भाग्यपूर्ण हुन सक्छ ।”

रोल्पाबाट निर्वाचन जितेका वर्षमान पुनले पनि रास्वपासँग सहकार्यको संकेत दिएका छन्। रास्वपा नेतृत्वको सरकार स्थापनामा नेकपाको उपस्थितिले राष्ट्रियसभामा बहुमत नपुग्दा पनि निर्णय प्रक्रियामा सहजता ल्याउन सक्ने देखिन्छ ।

विशेषगरी संवैधानिक परिषद र उपसभामुखको भूमिका सहकार्यको पुल बन्न सक्छ । यदि उपसभामुख नेकपालाई दिइयो भने, राष्ट्रियसभा अध्यक्षको निर्णयमा रास्वपा सरकारका लागि सहजीकरण हुनेछ। यसले समान उद्देश्य र सुशासनका लागि दुई पार्टीबीच राजनीतिक समझदारीलाई बलियो बनाउनेछ।

रास्वपाका एक नेताले भने, “अब बिस्तारै सरकार बनाउने प्रक्रिया अगाडि बढ्छ । कतिपय अवस्थामा पुराना दलसँग मिलेर विश्वासमा काम गर्नुपर्ने अवस्था आउँछ।”

यसरी, विजयी रास्वपा र स्थिरता चाहने नेकपाबीचको सहकार्यले मुलुकमा नयाँ राजनीतिक युग र सुशासनको सम्भावना प्रस्तुत गरेको छ । पुराना दलसँगको चुनौती र नयाँ दलबीचको विश्वासले नेपाली राजनीतिमा सहकार्यको मीठो संकेत दिएको छ ।

अन्ततः रास्वपा र नेकपाको यो सहकार्य केवल राजनीतिक आवश्यकता मात्र नभएर नयाँ सोच र समन्वयको अवसर पनि हो। रास्वपा र नेकपा मिल्दा सत्ता र जनताको अपेक्षा बीचको सन्तुलन कायम हुने जानकारहरुको विश्लेषण छ ।

Logo