काभ्रेपलाञ्चोक। काभ्रेमा गत भदौ २३ र २४ गते भएको आन्दोलनसँग सम्बन्धित नौ वटा ‘आपराधिक उपद्रव’ मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको हो।
प्रहरीका अनुसार आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको भन्दै विभिन्न व्यक्तिहरूले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ता गरिएको हो।
पनौतीका तत्कालीन कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, नगर उपप्रमुख गीता बञ्जारा, पूर्वनगरप्रमुख भीम न्यौपाने, उनका छोरा दीपक न्यौपाने, वडा अध्यक्ष पुरुषोत्तम अधिकारी तथा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जूलगायतको उजुरीका आधारमा दर्जनौँ व्यक्तिविरुद्ध अभियोग लगाइएको छ।
उजुरीहरूमा आन्दोलनका क्रममा घर तथा सरकारी संरचनामा आगजनी, तोडफोड र लुटपाट गरेर ठूलो क्षति पुर्याइएको दाबी गरिएको छ। विभिन्न पीडितले लाखौँ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरेका छन्।
जिल्ला प्रहरी प्रमुख कोमल शाहका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा काभ्रेका १८ सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो भने चार जनाले ज्यान गुमाएका थिए।































प्रतिक्रिया