धनकुटा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी लाइन विपरीत गतिविधि गरेको आरोपमा नेकपा एमाले धनकुटाले एक नेतृलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । जिल्ला कमिटीको निर्णयअनुसार साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।
निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारको सट्टा कांग्रेसका उम्मेदवारका पक्षमा प्रचार–प्रसार गरेको आरोप लागेपछि एमालेले छानबिन प्रक्रिया अघि बढाएको थियो। भीम राईको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले घटनाबारे अध्ययन गरेर कारबाहीको सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा जिल्ला कमिटी बैठकले उनलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।
पार्टीका अनुसार मुना राई केही समयदेखि संगठनात्मक गतिविधिबाट टाढा रहेकी थिइन्। निर्वाचनका बेला उनले विपक्षी उम्मेदवारको पक्षमा मत मागेको प्रमाण भेटिएपछि पार्टीले कडा निर्णय लिएको बताइएको छ। एमाले धनकुटाले पार्टी अनुशासन विपरीत गतिविधि गर्ने जो–कोहीमाथि आवश्यक कारबाही गरिने स्पष्ट गरेको छ।





























प्रतिक्रिया