संसदीय दलको नेता चयन विधि बदल्ने तयारीमा रास्वपा

संसदीय दलको नेता चयन विधि बदल्ने तयारीमा रास्वपा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने आफ्नै विधानको व्यवस्था संशोधन गर्ने तयारी गरेको छ। अहिलेको व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्दा पार्टीका सबै साधारण सदस्यलाई मतदानको अधिकार रहने प्रावधान छ। तर यो प्रक्रिया व्यवहारिक नदेखिएकाले विधान परिवर्तन गर्न लागिएको पार्टीले जनाएको छ।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था गरिएको छ। त्यसअन्तर्गत धारा ८ (ख) मा पार्टीका सम्पूर्ण साधारण सदस्यलाई मतदाता बनाउने उल्लेख छ। सहप्रवक्ता प्रतिभा रावलका अनुसार समयअनुसार विधानलाई व्यवहारिक बनाउन आवश्यक संशोधन गरिने तयारी भइरहेको छ।

पार्टीभित्रको छलफलअनुसार हजारौँ सदस्यलाई समेटेर संसदीय दलको नेता छान्ने प्रक्रिया कठिन हुने निष्कर्ष निकालिएको छ। त्यसैले निर्वाचित सांसदहरूबीचबाटै संसदीय दलको नेता चयन गर्ने नयाँ विधि अपनाउने सम्भावना रहेको बताइएको छ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उल्लेखनीय सिट जितेको छ। समानुपातिकतर्फ मात्रै ५७ सिट प्राप्त गरेको पार्टीले जनाएको छ, जसमा संवैधानिक प्रावधानअनुसार महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने हुन्छ।

संसदीय दलको नेता चयनपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने भएकाले पार्टीभित्र यस विषयमा छलफल तीव्र भएको छ। पार्टी स्रोतका अनुसार वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाउने तयारी भइरहेको छ।

रास्वपा र बालेन्द्र शाह पक्षबीच यसअघि भएको सहमतिमा प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा शाहलाई अघि सार्ने समझदारी बनेको थियो। अब समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूको टुंगो लागेपछि विधान संशोधन गरेर दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

Skip This
Skip This
Logo