काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि खर्च विवरण बुझाउनुपर्ने प्रावधान बमोजिम शाहीले २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् । उनी राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित एक्ला सांसद हुन् ।
सांसद शाहीले बुझाएको खर्च विवरण अनुसार सबैभन्दा बढी रकम सवारी साधन, इन्धन र आवास व्यवस्थापनमा ५ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। यस्तै, पालिका स्तरीय भेटघाट तथा आमसभा व्यवस्थापनमा ३ लाख २० हजार, मिडिया र प्रचारप्रसारमा ३ लाख तथा पालिका स्तरीय घरदैलो अभियानमा २ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
अन्य शीर्षकहरूमा जिल्ला स्तरीय वृहत आमसभाका लागि २ लाख २५ हजार, झण्डा, ब्यानर र पोस्टर जस्ता प्रचार सामग्रीमा २ लाख २० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। मनोनयन दर्ता बापतको १० हजार दस्तुर सहित कुल खर्च २० लाख ५५ हजार पुगेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था बमोजिम शाहीले फागुन २९ गते आफ्नो सम्पूर्ण खर्चको पारदर्शिता सुनिश्चित गर्दै आयोगमा जानकारी गराएका हुन् ।






























प्रतिक्रिया