काठमाडौं। चुनावमा पराजयपछि नेकपा एमालेभित्र आन्तरिक तनावको आगो भर्भराएको छ । उपमहासचिव योगेश भट्टराईले पार्टीका उच्च तहका नेताहरूले आफू र अन्य कमरेडहरूविरुद्ध अनर्गल आरोप र घृणाजनक अभिव्यक्ति फैलाएको बताएका छन्।
भट्टराईका अनुसार अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहँदा पनि केही नेताहरूले नक्कली फेसबुक खाता सञ्चालन गरी भ्रमपूर्ण सामग्री पोस्ट गर्दै पार्टी भित्र विवाद बढाइरहेका छन्।
उपमहासचिव भट्टराईले भनेका छन्, “अध्यक्षको पितृशोकको बेला अनावश्यक आरोप र घृणाजनक अभिव्यक्ति अशोभनीय छ । तर केही नेताहरूले यसै अवसरमा अनर्गल आरोप र अफवाह फैलाइरहेका छन्।” भट्टराईले पार्टीको एकता जोगाउनु, नेतृत्वको छवि सुरक्षित गर्नु र गुमेको जनविश्वास फिर्ता ल्याउनु अहिले प्राथमिक जिम्मेवारी भएको भन्दै केही नेताहरुले अर्नगल प्रचारमा लागेकोमा आपत्ती जनाए। “अन्तर्विवाद आवश्यक भए पनि अनर्गल आरोप स्वीकार्य छैन। उपयुक्त समयमा स्थापित प्रक्रिया अनुसार बहस र छलफल गरौँ,” उनले थपे।
राजनीतिक वृत्तमा भट्टराईको चेतावनीलाई पार्टीभित्र गम्भीर संकेतका रूपमा लिइएको छ। सामाजिक सञ्जालमा फैलिरहेको मिथ्या सूचना र नक्कली खाता प्रयोगले एमालेभित्रको विवादलाई अझ तीव्र बनाएको छ ।





























प्रतिक्रिया