रास्वपाले ५७ जना समानुपातिक सांसदको लगायो टुङ्गो, कुन क्लस्टरबाट कति ?

रास्वपाले ५७ जना समानुपातिक सांसदको लगायो टुङ्गो, कुन क्लस्टरबाट कति ?

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फका ५७ जना उम्मेदवारहरूको नामावली अन्तिम टुङ्गो लगाएको छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले कानुनले तोकेको क्लस्टर र समावेशी सिद्धान्तका आधारमा नामावली तय गरी आजै निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो।

बैठकपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले निर्वाचन आयोगले तोकेको समयसीमा भित्रै नामावली बुझाइने जानकारी दिए । प्रवक्ता झाका अनुसार ५७ जनाको सूचीमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन्। समावेशी समूहअन्तर्गत खस आर्यबाट १७ जना, जनजातिबाट १६ जना, मधेसीबाट ९ जना, दलितबाट ८ जना, थारूबाट ४ जना र मुस्लिम समुदायबाट ३ जनाको नाम छनोट गरिएको छ।

पार्टीले कुन कुन व्यक्तिको नाम पठाएको छ भन्नेबारे भने तत्काल खुलाएको छैन।

प्रवक्ता झाले निर्वाचन आयोगले नामावली रुजु र प्रमाणीकरण नगर्दासम्म ती नामहरू केवल प्रस्तावित मात्र रहने कानुनी प्रावधान भएकाले आयोगले नै नामावली सार्वजनिक गर्ने बताए । “हामीले पठाएको नामावली आयोगले प्रक्रिया पुर्‍याएर स्वीकृत गरेपछि मात्र आधिकारिक हुने भएकाले त्यतिन्जेल धैर्य गरिदिन अनुरोध गर्दछौँ,” प्रवक्ता झाले भने ।

पार्टी सचिवालयले कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा आजै आयोगको कार्यालयमा गएर नामावली बुझाउने जिम्मेवारी दिएको छ ।

Logo