काठमाडौं। म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रधानमन्त्रिले गरेको एक नियुक्तिमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रिले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को कार्यकारी प्रमुखमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेको विषयलाई पुनले ‘१०० प्रतिशत गलत निर्णय’ भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक रूपमा आलोचना गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले उक्त पद स्वीकार नगर्न आदर्श श्रेष्ठलाई आग्रह गरेका छन् । उनले यस्तो नियुक्तिले प्रधानमन्त्रीले कमाएको प्रतिष्ठा नै धुलोमा मिल्न सक्ने चेतावनी दिएका छन् ।
पुनका अनुसार नातावाद, कृपावाद, चाकरीवाद र चापलुसीको संस्कृतिले नै विगतमा पुराना राजनीतिक दलहरू कमजोर बनेका थिए । यही प्रवृत्ति दोहोरिए नयाँ राजनीतिक शक्ति पनि दीर्घकालीन रूपमा टिक्न नसक्ने उनको भनाइ छ ।
उनले आगामी दिनमा यस्ता नियुक्ति गर्दा सरकार सचेत हुनुपर्ने भन्दै सम्बन्धित पदमा योग्य र निष्पक्ष व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेका छन् ।
पुनले आफूले सार्वजनिक रूपमा चेतावनी दिएको उल्लेख गर्दै गलत अभ्यास रोक्न अहिले नै सचेत हुनुपर्ने सन्देश दिएका छन् ।






























प्रतिक्रिया